Logo

Oct 04 2026 | २०८३, आश्विन १८गते

दुषित तथा गुणस्तरहीन दाना उत्पादनको आरोपमा न्यू होप एग्रोविरुद्ध मुद्दा

दुषित तथा गुणस्तरहीन दाना उत्पादनको आरोपमा न्यू होप एग्रोविरुद्ध मुद्दा

चितवन : भरतपुर महानगरपालिका–१५ स्थित न्यू होप एग्रो विजनेश नेपाल प्रा.लि. विरुद्ध दुषित तथा गुणस्तरहीन दाना उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा मुद्दा दर्ता भएको छ । दानाको गुणस्तरबारे गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय चितवनले गत साउन १४ गते दाना पदार्थ ऐन, २०३३ अन्तर्गत कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी मदन लामा थिङका अनुसार कम्पनीलाई धरौटीमा राखेर थप अनुसन्धान भइरहेको छ । उनका अनुसार दाना पदार्थ ऐनअनुसार मुद्दा अघि बढाइएको हो । ‘हामीले दाना पदार्थ ऐनअनुसार मुद्दा चलाएका छौँ,’ उनले भने, ‘धरौटी लिएर थप अनुसन्धान भइरहेको छ ।’

मुद्दा हाल विचाराधीन अवस्थामा छ । अनुसन्धानबाट कसुर पुष्टि भएमा प्रचलित कानुनअनुसार कारबाही हुने प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालले बताए । दाना पदार्थ ऐन, २०३३ अनुसार कसुर पुष्टि भएमा २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद हुने व्यवस्था छ ।

प्रशासनले अनुसन्धानका क्रममा प्राप्त प्रमाण तथा तथ्यका आधारमा थप कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ । हालसम्म न्यू होप एग्रो दोषी ठहर भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij