Logo

Oct 04 2026 | २०८३, आश्विन १८गते

शल्यक्रियापछि नमुना परीक्षणका लागि अब बाहिर जानु नपर्ने, बकुलहरमै हिस्टोप्याथोलोजी सेवा

शल्यक्रियापछि नमुना परीक्षणका लागि अब बाहिर जानु नपर्ने, बकुलहरमै हिस्टोप्याथोलोजी सेवा

रत्ननगर : चितवनको रत्ननगरस्थित बागमती प्रदेशस्तरीय रत्ननगर बकुलहर अस्पतालमा हिस्टोप्याथोलोजी ल्याब सञ्चालनमा आएको छ। अस्पतालको प्रयोगशाला सेवा विस्तार गर्दै स्थापना गरिएको ल्याबको बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।हिस्टोप्याथोलोजी सेवा सुरु भएसँगै अस्पतालमै शल्यक्रियापछि आवश्यक पर्ने मासुको नमुना अर्थात् बायोप्सी परीक्षण तथा रिपोर्टिङ हुने भएको छ। यसअघि यस्तो परीक्षणका लागि बिरामीले भरतपुर वा काठमाडौंसम्म पुग्नुपर्ने अवस्था रहेकोमा अब स्थानीयस्तरमै सेवा उपलब्ध हुने भएको हो।

ल्याब उद्घाटन कार्यक्रममा मुख्यमन्त्री थापा मगरले अस्पतालमै हिस्टोप्याथोलोजी परीक्षण र रिपोर्टिङको सुविधा सुरु हुनु महत्वपूर्ण उपलब्धि भएको बताए। उनले यसबाट बिरामीको समय र खर्च बचत हुनुका साथै उपचार प्रक्रियासमेत सहज हुने बताए।स्वास्थ्य तथा सामाजिक विकास मन्त्री तामाङले बकुलहर अस्पतालमा दैनिक एक हजार दुई सयभन्दा बढीले ओपीडी सेवा लिँदै आएको बताए। अस्पतालमा विभिन्न प्रकारका शल्यक्रिया हुँदै आए पनि बायोप्सी परीक्षणका लागि बाहिर पठाउनुपर्ने अवस्था रहेकोमा अब आफ्नै अस्पतालमा हिस्टोप्याथोलोजी सेवा सुरु भएपछि बिरामीलाई थप सुविधा पुग्ने उनको भनाइ थियो।नयाँ सेवा सञ्चालनसँगै पूर्वी चितवनसहित आसपासका क्षेत्रका बिरामीलाई बायोप्सी परीक्षणका लागि अन्य अस्पतालमा धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij