काठमाडौं : निर्देशक सौरभ चौधरीको महत्वाकांक्षी चलचित्र ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु भएको छ। मंगलबार विराटनगरमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन थालिएको हो। एपिक एक्सन ड्रामाका रूपमा निर्माण हुन लागेको चलचित्रलाई निर्देशक चौधरीले यसपटक ठूलो क्यानभासमा प्रस्तुत गर्ने तयारी गरेका छन्। चलचित्रको छायांकनका लागि ७० दिनको तालिका तय गरिएको छ भने अधिकांश दृश्य पूर्वी नेपालका विभिन्न स्थानमा खिचिनेछन्।
चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली, सुशील श्रेष्ठ र अमरप्रताप श्रेष्ठ प्रमुख भूमिकामा देखिनेछन्। बलिया कलाकारको टिमसँग काम गर्न पाउँदा आफू उत्साहित रहेको निर्देशक चौधरीले बताएका छन्।
चलचित्रमा सौगात मल्लले चुनौतीपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ। उनले २५ वर्षको जवानदेखि ८० वर्षको वृद्धसम्मको जीवन यात्रा एउटै पात्रमार्फत पर्दामा प्रस्तुत गर्नेछन्। फरक–फरक उमेरको चरित्रलाई अभिनयमार्फत प्रस्तुत गर्नु सौगातका लागि समेत चुनौतीपूर्ण हुने निर्देशकको भनाइ छ। निर्देशक चौधरीले पहिलोपटक दयाहाङ राईसँग सहकार्य गर्दैछन्। दयाहाङलाई यस चलचित्रमा दर्शकले फरक चरित्रमा देख्न पाउने उनले बताएका छन्। यसअघि ‘अगस्त्यः च्याप्टर १’मा सौगात मल्ल र विजय बरालसँग काम गरिसकेका चौधरीले उनीहरूसँग पुनः सहकार्य गरेका हुन्।
सुशील श्रेष्ठसँग पनि निर्देशक चौधरीको करिब ६ वर्षपछि पुनर्मिलन भएको छ। उनीहरूले यसअघि चौधरीको पहिलो निर्देशकीय चलचित्र ‘लभ डायरीज’मा सहकार्य गरेका थिए। अमरप्रताप श्रेष्ठले भने यही चलचित्रका लागि निर्देशक चौधरीको निगरानीमा करिब साढे दुई वर्षदेखि अभिनय प्रशिक्षण लिइरहेका थिए।
“हामीले अभिनयमा अब्बल कलाकार भित्र्याएकोमा उत्साहित छु,” निर्देशक चौधरीले भने।
चलचित्रको कथा तथा पटकथा चर्चित उपन्यासकार बुद्धिसागरले लेखेका हुन्। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन चलचित्र बनाउने निर्माण पक्षको दाबी छ।
प्रवेश चौधरी र निला देव निर्माता रहेको चलचित्रमा विश्वास बस्नेत (बेन) को–प्रोड्युसर तथा शंकर पाण्डे कार्यकारी निर्माता छन्। मानकृष्ण महर्जन डीओपी र श्री श्रेष्ठ एक्सन निर्देशक छन्। ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर तथा डिसीएन वितरकका रूपमा जोडिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij