चितवन : नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय ब्यान्ड नेपथ्यले आफ्नो नेपाल यात्राअन्तर्गतको कार्यक्रमको पहिलो पोस्टर सार्वजनिक गरेको छ। ब्यान्डले आफ्नो आधिकारिक पेजमार्फत सार्वजनिक गरेको पोस्टरमा नेपालका चार स्थानमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम समेटिएको छ। उक्त यात्राअन्तर्गत पहिलोपटक पर्यटकीय नगरी सौराहामा पनि नेपथ्यको लाइभ कन्सर्ट हुने भएको छ।
रत्ननगर नगरपालिका–७, सौराहा स्थित सभा हलअगाडिको सिसुवार ग्राउन्डमा आगामी मंसिर ३ गते, २०८३ मा नेपथ्यको विशेष लाइभ कन्सर्ट आयोजना हुने भएको हो। सौराहामा नेपथ्यको यो पहिलो प्रत्यक्ष प्रस्तुति हुनेछ। रत्ननगर नगरपालिकाको संरक्षणमा आयोजना हुन लागेको उक्त कार्यक्रम A.B. Events Nepal र Nepal Diaries Pvt. Ltd. ले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्।
नेपथ्यको नेपाल यात्राअन्तर्गत सौराहामा हुने यस कार्यक्रमले चितवनको सांगीतिक तथा पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ। प्राकृतिक सौन्दर्य र पर्यटनका लागि परिचित सौराहामा राष्ट्रियस्तरको सांगीतिक कार्यक्रम आयोजना हुँदा स्थानीय संगीतप्रेमी, चितवनवासी तथा सौराहा भ्रमणमा आउने आन्तरिक र बाह्य पर्यटकका लागि विशेष आकर्षण थपिने आयोजकको विश्वास छ।
कार्यक्रमबारे जानकारी दिँदै A.B. Events Nepal का प्रबन्ध निर्देशक Ankit Gautam ले सौराहामा पहिलोपटक नेपथ्यको लाइभ कन्सर्ट आयोजना गर्न पाउनु आफ्नो टिमका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।
गौतमले भने, “नेपथ्य नेपाली संगीतको एउटा विशिष्ट पहिचान हो। यस्तो लोकप्रिय ब्यान्डलाई पहिलोपटक सौराहामा प्रस्तुत गर्न पाउनु हाम्रा लागि खुसी र गौरवको विषय हो। सौराहालाई पर्यटनसँगै संगीत, कला र मनोरञ्जनको गन्तव्यका रूपमा स्थापित गर्न यो कार्यक्रमले योगदान पुर्याउने हाम्रो अपेक्षा छ।”
कार्यक्रम आयोजनासँगै गौतम उद्यमशीलता, परामर्श सेवा तथा ट्राभल व्यवसायमा समेत सक्रिय छन्। उनी विभिन्न सांगीतिक कार्यक्रम, कन्सर्ट तथा मनोरञ्जनसम्बन्धी कार्यक्रम आयोजना गर्दै आएका अनुभवी युवा उद्यमीका रूपमा परिचित छन्। कार्यक्रम व्यवस्थापन, इभेन्ट आयोजना, पर्यटन प्रवर्द्धन तथा व्यवसायिक परामर्शका क्षेत्रमा समेत उनको सक्रियता रहँदै आएको छ। आफ्ना व्यवसायिक गतिविधिमार्फत स्थानीय पर्यटन, कला, संगीत र मनोरञ्जन क्षेत्रलाई जोड्ने प्रयास गर्दै आएका गौतमले सौराहामा आयोजना हुन लागेको नेपथ्यको कार्यक्रमलाई पनि पर्यटन प्रवर्द्धनसँग जोडेर अघि बढाउने बताएका छन्।
उनले कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र दर्शकका लागि अविस्मरणीय बनाउन आयोजक टिमले आवश्यक तयारी अघि बढाइरहेको जानकारी दिए।
नेपथ्यको नेपाल यात्राको पोस्टर सार्वजनिक भएसँगै सौराहामा हुने कार्यक्रमलाई लिएर स्थानीय संगीतप्रेमी तथा दर्शकमाझ उत्सुकता बढ्ने अपेक्षा गरिएको छ। कार्यक्रमको टिकट, प्रवेश व्यवस्था, समय तथा अन्य विस्तृत विवरण आयोजकले आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij