निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता सुशील श्रेष्ठ अनुबन्धित भएका छन्।
छायांकनको अन्तिम तयारीमा रहेको चलचित्रमा निर्देशक चौधरीले सुशीललाई अनुबन्ध गरेका हुन्। यसअघि नै चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली र अमरप्रताप श्रेष्ठ जस्ता कलाकार अनुबन्धित भइसकेका छन्।
निर्देशक सौरभ चौधरीले सुशीलले चलचित्रमा मुख्यमध्ये एक भूमिकामा अभिनय गर्ने जानकारी दिएका छन्। यसअघि फरक–फरक शैलीका चलचित्रमा काम गर्दै आएका सुशिलका लागि ‘द राइज अफ साम्राज्य’को भूमिका नयाँ चुनौती बन्ने अपेक्षा गरिएको छ।
निर्माण टिमले चलचित्रको छायांकनका लागि ७० दिनको तालिका तयार पारेको छ। चलचित्रको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिनेछ। कथा र परिवेशअनुसार आवश्यक लोकेसन छनोटको काम पनि अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको कथा तथा पटकथा चर्चित उपन्यासकार बुद्धिसागरले लेखेका हुन्। साहित्यिक लेखनमा छुट्टै पहिचान बनाएका बुद्धिसागरको कथा तथा पटकथामा निर्माण हुने भएकाले चलचित्रको कथावस्तुलाई लिएर पनि चासो बढेको छ।
चलचित्रका निर्माता प्रवेश चौधरी र निला देव हुन्। विश्वास बस्नेत (बेन) को-प्रोडुसर तथा शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन्।चलचित्रको छायांकन मानकृष्ण महर्जनले गर्नेछन् भने एक्सन निर्देशनको जिम्मेवारी श्री श्रेष्ठले सम्हाल्नेछन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij