चितवन : मारवाडी समुदायका युवाहरू व्यवसायमा मात्र सीमित नभई राजनीतिमा समेत सक्रिय हुँदै नेतृत्वदायी भूमिकामा आउनुपर्नेमा जोड दिइएको छ । सौराहामा आइतबार आयोजित नेपाल राष्ट्रिय मारवाडी युवा सङ्गठनको पाँचौँ राष्ट्रिय महाधिवेशन तथा साधारण सभाको उद्घाटन सत्रमा सहभागी वक्ताहरूले व्यवसाय, सामाजिक सेवा र विभिन्न क्षेत्रमा सक्रिय युवाहरू अब राजनीतिमा समेत अघि बढ्नुपर्ने बताएका हुन् ।
कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधिसभा सांसद् पुनम अग्रवालले नेपालको आर्थिक विकासमा मारवाडी समुदायले महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै युवाहरूलाई राजनीतिमा सक्रिय हुन आह्वान गरिन् । ‘मारवाडी समुदायका युवाहरूले राजनीतिमा हस्तक्षेप गर्ने बेला आएको छ’, उनले भनिन्, ‘अब युवाहरू व्यवसायमा मात्र केन्द्रित हुने होइन, राजनीतिमा प्रवेश गरेर मुलुकको नेतृत्व गर्न सक्नुपर्छ ।’
सङ्गठनका संस्थापक अध्यक्ष सुरेन्द्र गोल्छाले बदलिँदो परिस्थितिअनुसार युवाहरूको नेतृत्व क्षमता विकास गर्नुपर्ने बताए । उनले सङ्गठनले आगामी दिनमा नेतृत्व विकाससँगै व्यवसायिक सीप अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । मारवाडी सेवा केन्द्र नारायणगढका अध्यक्ष पंकज अग्रवालले व्यवसाय विकास तथा सामाजिक सेवाका क्षेत्रमा मारवाडी समुदायका युवाहरूले गर्दै आएको योगदानको राज्यले उचित सम्मान गर्नुपर्ने बताए ।
महाधिवेशनको अवसरमा नेपाल राष्ट्रिय मारवाडी युवा सङ्गठनले भोटेकोशी बाढीपीडितका लागि पाँच लाख १७ हजार रुपैयाँ सहयोगसमेत गरेको छ । सङ्गठनका राष्ट्रिय अध्यक्ष मनोज अग्रवालले विपद् तथा सामाजिक सेवाका क्षेत्रमा समुदाय निरन्तर सक्रिय रहँदै आएको बताए ।
उनले मानवता, समाजसेवा, वातावरण संरक्षण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा सङ्गठनले विभिन्न कार्यक्रममार्फत योगदान पुर्याउँदै आएको जानकारी दिए । महाधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । मारवाडी युवा मञ्च नारायणगढको स्थानीय व्यवस्थापनमा आयोजित महाधिवेशनमा देशभरबाट प्रतिनिधि तथा मारवाडी समुदायका युवाहरूको सहभागिता रहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij