Logo

Sep 22 2026 | २०८३, आश्विन ६गते

क्यान्सर र मुटु रोगको उपचारमा सहुलियत दिन बागमती प्रदेशले १८ अस्पतालसँग गर्‍यो सम्झौता

क्यान्सर र मुटु रोगको उपचारमा सहुलियत दिन बागमती प्रदेशले १८ अस्पतालसँग गर्‍यो सम्झौता

काठमाडौं : बागमती प्रदेश सरकारले क्यान्सर तथा मुटु रोगका बिरामीलाई सहुलियतपूर्ण उपचार सेवा उपलब्ध गराउन १८ वटा अस्पतालसँग सम्झौता गरेको छ। प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले बिरामीलाई सहज र प्रभावकारी रूपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न अस्पतालसँग सम्झौता गरेको हो। मन्त्रालयका स्वास्थ्य सचिव र सम्बन्धित अस्पतालका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार मुटु रोगको उपचारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, मनमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टर र भरतपुर अस्पतालसँग सम्झौता गरिएको छ। यस्तै, क्यान्सर रोगको उपचारका लागि सूचीकृत अन्य १३ वटा अस्पतालसँग सम्झौता गरिएको मन्त्रालयले जनाएको छ।

सम्झौता कार्यक्रममा स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले प्रदेश सरकारले उपलब्ध गराउने सहुलियतका कारण बिरामीले उपचारका क्रममा अनावश्यक झन्झट व्यहोर्न नपर्ने बताउनुभयो।

उहाँले अस्पताललाई उपलब्ध गराउनुपर्ने सोधभर्ना रकम समयमै भुक्तानी गर्ने प्रतिबद्धता जनाउँदै बिरामीले सहज, छिटो र प्रभावकारी रूपमा सेवा पाउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।

मन्त्री तामाङले सम्झौता प्रभावकारी रूपमा कार्यान्वयन भए आगामी दिनमा स्वास्थ्यका अन्य क्षेत्रमा समेत सहकार्य विस्तार गर्न सकिने बताउनुभयो।

मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले सम्झौतापछि बागमती प्रदेशका क्यान्सर तथा मुटु रोगका बिरामीले तोकिएका अस्पतालबाट प्रदेश सरकारले निर्धारण गरेको मापदण्डअनुसार सहुलियतपूर्ण उपचार सेवा प्राप्त गर्न सक्ने जानकारी दिनुभयो।

मन्त्रालयका अनुसार सम्झौतामा आबद्ध अस्पतालबाट प्रदेश सरकारले तोकेको मापदण्ड र प्रक्रियाअनुसार बिरामीले उपचारमा सहुलियत प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट