Logo

Sep 19 2026 | २०८३, आश्विन ३गते

ओलीको प्रश्न- जेनजी आन्दोलनमा गोली नचलाउनु भनेको हुँ, षड्यन्त्रपूर्ण कसरी चल्यो ?

ओलीको प्रश्न- जेनजी आन्दोलनमा गोली नचलाउनु भनेको हुँ, षड्यन्त्रपूर्ण कसरी चल्यो ?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा घुसपैठ गरेर योजनाबद्ध रूपमा गोली चलाइएको दाबी गरेका छन्।

शनिबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन्। ओलीले आफू प्रधानमन्त्री हुँदा गोली नचलाउन र दमन नगर्न निर्देशन दिए पनि त्यसविपरीत गोली चलाइएको बताए।

उनले भदौ २३ गते युवामाथि गोली चलाउने घटना योजनाबद्ध भएको दाबी गर्दै त्यसैलाई बहाना बनाएर भोलिपल्ट देशभर लुटपाट, हिंसा, आगजनी र अराजकता फैलाइएको बताए।

ओलीले भदौ २४ गते सिंहदरबार, संसद् भवनलगायतका संरचनामा भएको आगजनी तथा तोडफोडका घटना पूर्वयोजनाअनुसार भएको दाबी गरे। उनले आन्दोलनमा बाह्य तथा भूराजनीतिक संलग्नता रहेको दाबीसमेत गर्दै त्यसबारे थप अनुसन्धान हुनुपर्ने बताए।

उनले आफू र तत्कालीन सरकारमाथि घटनाको दोष थोपर्ने प्रयास भएको जिकिर गर्दै भने- ‘हामीले गोली नचलाउन र दमन नगर्न भनेका थियौँ, गोली कसरी चल्यो भन्ने कुरा नै षड्यन्त्रपूर्ण छ।’

'प्रधानमन्त्री म थिएँ, मैले नचलाउनु, दमन नगर्नु भनेको थिएँ । दमन भयो किन रु दमन हुनुभन्दा अगाडि तोडफोड हुनुभन्दा अगाडि आगजनी हुनुभन्दा अगाडि फोरकास्ट हुँदै गए । सिंहदरबार जलाउने कुरा यो ८२ भदौ २४ गते सिंहदरबार जलाउने कुरा त्यसै दिन चलेको रु उसै दिनको आक्रोश, आवेश, उत्तेजना मात्रै होइन, अगाडिदेखि चलेको थियो । हाम्रा घरहरू जलाइएका तस्बिरहरू अगाडिदेखि देखाइएका थिए । सिंहदरबार जलाएको तस्बिर अगाडिदेखि देखाइएको थियो । संसद भवन जलाइएका तस्बिर अगाडिदेखि देखाइएका थिए । त्यसर्थ यो वास्तवमा नेपाललाई अराजकताको भुमरीमा राखेर आफ्ना प्यादाहरुको कथित सरकार जडान गरेर आफ्ना स्वार्थहरू पूरा गर्ने षड्यन्त्रहरू यी कुराहरू भएका हुन्,' उनले थप भने ।

ओलीले जेनजी आन्दोलनपछि भएका घटनाले संविधान र लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठाएको दाबी गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट