धनगढी : धनगढीमा हाइसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ फाप्लास्थित हुलाकी सडकखण्डमा बुधबार राति करिब १० बजे सुदूरपश्चिम प्रदेश ०१–००१ ज १५८० नम्बरको ईभी हाइसले पैदलयात्रीलाई ठक्कर दिएको थियो । हाइसको ठक्करबाट धनगढी–३ चटकपुर बस्ने १८ वर्षीय कालु राना गम्भीर घाइते भएका थिए।
घाइते रानालाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो। तर चिकित्सकले राति ११ः१० बजे उनलाई मृत घोषणा गरेका हुन् । उनको शव सोही अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि हाइस र चालक फरार भएका थिए। खोजी गर्ने क्रममा बिहीबार बिहान करिब ६ः५० बजे दुर्घटनामा संलग्न चालक पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
कञ्चनपुरको लालझाँडी गाउँपालिका–५ बस्ने ४५ वर्षीय लोकेन्द्र पाण्डेयलाई कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया चोकबाट पक्राउ गरिएको हो । धनगढी उपमहानगरपालिका–३ बोराडाँडीस्थित ईभी चार्जर स्टेसनबाट नियन्त्रणमा लिइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij