चितवन : हरितालिका तीजको अवसरमा नेपाली चलचित्र ‘बेहुली’ले चितवन र नवलपुरमा दर्शकको उत्साहजनक साथ पाएको छ । तीजको दिन सोमबार चितवन र नवलपुरका पाँच वटा हलमा चलचित्रका सबै शो हाउसफुल भएका छन् ।
पूर्वी चितवनको म्याङ्गो जनज्योति सिनेमा, क्यूएफएक्स सिजी र क्यूएफएक्स जलमा तथा नवलपुरको देवचुली र कावासोतीका हलहरूमा ‘बेहुली’ हेर्न दर्शकको बाक्लो उपस्थिति देखिएको हो । तीजको दिन बिहानैदेखि हलमा दर्शकको चाप बढेको थियो भने चलचित्रका शोहरूमा सिट पाउनसमेत कठिन भएको थियो ।
चलचित्रको सफलतासँगै चितवन र नवलपुर पुगेको ‘बेहुली’ टोलीलाई दर्शकले उत्साहपूर्ण स्वागत गरेका छन् । मुख्य कलाकार पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ तथा निर्देशक शशान कँडेल हलमा पुग्दा दर्शकले मोबाइलको टर्च बाल्दै हुटिङसहित स्वागत गरेका थिए ।
म्याङ्गो जनज्योति सिनेमामा पुगेको चलचित्र टोलीसँग दर्शकले प्रत्यक्ष भेटघाट गर्दै चलचित्रबारे प्रतिक्रिया दिएका थिए । चलचित्रको सफलताको खुसीमा दर्शकले हलमै केक काटेर कलाकार तथा निर्माण टोलीसँग सेलिब्रेसनसमेत गरेका थिए ।
चितवन र नवलपुरका दर्शकबाट चलचित्रले पाएको माया र सकारात्मक प्रतिक्रियाले आफूहरू थप उत्साहित भएको कलाकार तथा निर्माण टोलीले बताएका छन् । चितवन–नवलपुरमा देखिएको दर्शकको उत्साहले चलचित्रको व्यापारमा समेत सकारात्मक प्रभाव पारेको निर्माण पक्षको भनाइ छ ।
चलचित्रका प्रस्तुतकर्ता तथा चर्चित सङ्गीतकार अर्जुन पोखरेलले दर्शकको यही साथबाट आफू उत्साहित भएको बताएका छन् । चलचित्र निर्माणमा आर्थिक लगानीको ठूलो दबाब भए पनि दर्शकबाट करिब ९० प्रतिशत सकारात्मक प्रतिक्रिया पाउँदा आफूलाई थप ऊर्जा मिलेको उनको भनाइ छ ।
दर्शकको साथलाई आत्मसात् गर्दै पोखरेलले हरेक वर्ष एउटा चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् । आगामी मङ्सिरमा नयाँ चलचित्र घोषणा गर्ने तयारीमा रहेका उनले २०८४ सालमा ‘बेहुली’को दोस्रो शृङ्खला दर्शकमाझ ल्याउने जानकारी दिएका छन् ।
माधव शर्माको लेखन तथा शशान कँडेलको निर्देशन रहेको ‘बेहुली’ले नेपाली समाजको यथार्थ, युवा पुस्ताको मनोभाव र पारिवारिक सम्बन्धका मार्मिक पक्षलाई कथावस्तु बनाएको छ । चलचित्रका प्रस्तुत कर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुन्। कार्यकारी निर्मातामा रमेश सिलवाल, सह निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ रहेका छन्।