Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

ज्ञानेन्द्र देउजाको निर्देशनमा ‘झिंगे दाउ २’, पारिवारिक कथासहित असोज २ गतेदेखि प्रदर्शनमा

ज्ञानेन्द्र देउजाको निर्देशनमा ‘झिंगे दाउ २’, पारिवारिक कथासहित असोज २ गतेदेखि प्रदर्शनमा

काठमाडौं : निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित नेपाली चलचित्र ‘झिंगे दाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको चासो र अपेक्षा बढेको छ।

सार्वजनिक ट्रेलरमा दाजुभाइबीचको सम्बन्ध, देउरानी–जेठानीको झगडा, आमाको ममता, सन्तानको प्रेम तथा आमाको खोजीलाई कथाको मुख्य आधार बनाइएको देखिन्छ। पारिवारिक सम्बन्धभित्र देखिने प्रेम, द्वन्द्व र भावनात्मक उतारचढावलाई देउजाले पर्दामा प्रस्तुत गरेका छन्।

यसअघि ‘झिंगे दाउ’मार्फत दर्शकको राम्रो साथ पाएका देउजाले दोस्रो भागमा पनि पारिवारिक कथालाई निरन्तरता दिएका छन्। ट्रेलरमा देखाइएको कथा, कलाकारको अभिनय र भावनात्मक पक्षले चलचित्रलाई दर्शकमाझ थप चासोको विषय बनाएको छ।

कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रमा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ। रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता रहेका छन्।

चलचित्रमा केकी अधिकारी र आँचल शर्मासँगै महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायत कलाकारको अभिनय रहेको छ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रमा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ। विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ। फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।

चलचित्रमा समावेश ‘जेठानी भर्सेस देउरानी’ बोलको तीज ब्याटल गीतले पनि दर्शकको ध्यान तानेको छ। गीत युट्युब तथा टिकटकमा चर्चामा रहँदै छोटो समयमै ३७ लाखभन्दा बढी भ्यूज प्राप्त गरिसकेको निर्माण पक्षले जनाएको छ।

यसअघि सार्वजनिक भएको ‘झिंगे दाउ’ले युट्युबमा ८० लाखभन्दा बढी भ्यूज प्राप्त गरिसकेको छ। पहिलो भागलाई दर्शकले दिएको साथ र दोस्रो भागको ट्रेलरमा देखिएको पारिवारिक कथाले निर्देशक देउजाको ‘झिंगे दाउ २’प्रति दर्शकको अपेक्षा थप बढाएको छ।

असोज २ गतेदेखि प्रदर्शनमा आउने चलचित्रले पारिवारिक कथामार्फत दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ।

https://youtu.be/X_uzq1-I6Gc

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij