हेटौँडा : निको अस्पताल प्रालि हेटौँडाले डा. दीपेन्द्र पौडेललाई अस्पताल निर्देशक नियुक्त गरेको छ। अस्पतालमा आयोजित विशेष कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यतामा डा. पौडेललाई अस्पताल निर्देशकको जिम्मेवारी प्रदान गरिएको हो। डा. पौडेलले चिकित्सा शास्त्रमा स्नातक (एमबीबीएस) तथा आन्तरिक चिकित्सा विषयमा स्नातकोत्तर (एमडी) गरेका छन्। उनले भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स), नयाँ दिल्लीबाट अध्ययन पूरा गरेका हुन्।
अस्पतालको स्वास्थ्य सेवा तथा व्यवस्थापनलाई थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउने उद्देश्यले डा. पौडेललाई निर्देशकको जिम्मेवारी दिइएको अस्पतालले जनाएको छ। उनको नियुक्तिसँगै अस्पतालको चिकित्सा सेवा र व्यवस्थापन थप सुदृढ हुने अपेक्षा गरिएको छ।
सोही अवसरमा निको अस्पतालमा रेडियोलोजी विशेषज्ञ डा. त्रायुस अधिकारी तथा नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. कृष्ण घर्तीलाई औपचारिक रूपमा स्वागत गरिएको थियो। नयाँ विशेषज्ञ चिकित्सकको आगमनसँगै अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवाको दायरा विस्तार हुने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सकलाई समेत सम्मान गरिएको थियो। स्वास्थ्य सेवामा चिकित्सकहरूले पुर्याउँदै आएको योगदानको कदर गर्दै सम्मान गरिएको अस्पतालले जनाएको छ।
निको अस्पतालका सञ्चालक सुधीर दाहालको सभाअध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा अन्य सरोकारवालाको उपस्थिति थियो । अस्पतालले आगामी दिनमा विशेषज्ञ सेवा विस्तार गर्दै बिरामीलाई गुणस्तरीय, सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij