Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र ओमान प्रतिस्पर्धा गर्दै

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र ओमान प्रतिस्पर्धा गर्दै

काठमाडौं : एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ। 

खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभलमा नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुनेछ। समूह ए को विजेता नेपाल र समूह बी को उपविजेताका रुपमा अन्तिम ४ मा पुगेको ओमान दुवै फाइनल प्रवेश गर्दै उपाधि जित्ने दाउमा छन्। 

एसियाली क्रिकेटमा यी दुई टोली चिरपरिचित प्रतिद्वन्द्वी हुन्। अन्तर्राष्ट्रिय क्रिकेटको महत्वपूर्ण खेलमा पटक-पटक भेट भइरहने यी दुईबीचको खेल सँधै नेक टु नेक रहँदै आएको छ।

एसोसिएट क्रिकेटमा बलिया मानिएका यी दुईबीच अहिलेसम्म एकदिवसीय अन्तर्राष्ट्रिय ओडिआईमा कुल १० वटा खेल भएका छन्। जसमा ओमान बलियो छ।  अहिलेसम्म भएको कुल १० खेलमा ओमानले ६ खेल जित्दा नेपालले ४ खेलमात्र जितेको छ। 

समूह ए मा बहराइनलाई ७, मलेसियालाई ६ र साउदी अरेबियालाई ५ विकेटले हराएको नेपाल अन्तिम खेलमा हङकङसँग १५ रनले हारेको थियो। तर नेटरनरेटमा माथि रहँदै नेपालले समूह विजेताका रुपमा अन्तिम ४ मा स्थान बनाएको हो। यता ओमानले समूह चरणमा २ जित र २ हारको नतिजा आत्मसाथ गर्‍यो।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली हाल उत्कृष्ट लयमा देखिएको छ।  फेरबदलसहित मलेसिया पुगेको नेपाली टोलीमा आसिफ शेख, देव खनाल, इशान पाण्डे, अर्जुन कुमाल जस्ता भरपर्दो ब्याटर लयमा छन्। बलिङतर्फ स्पिन आक्रमणमा कप्तान सन्दीप लामिछाने र ललित राजवंशी तथा पेस आक्रमणमा करण केसी नेपालको मुख्य हतियार हो।

यो प्रतियोगिताको उपाधि जितेमा नेपाल दोस्रो पटक एसीसी एसिया कपका लागि छनोट हुनेछ। जहाँ एसियाली क्षेत्रका विश्व विजेताहरु भारत, पाकिस्तान जस्ता टोलीहरु हुनेछ। यसअघि सन् २०२३ मा घरेलु मैदानमै भएको पहिलो संस्करणमा युएईलाई हराउँदै नेपालले पहिलो पटक एसिया कप खेलेको थियो। तर पछिल्लो पटक टी-२० फरम्याटमा भएको खेलमा ओमानलाई हराउँदै युएई एसिया कप पुगेको थियो। ओडिआई फरम्याटमा भइरहेको प्रतियोगितामा १० एसियाली एसोसिएट राष्ट्रहरू सहभागी छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट