चितवन : कालिका नगरपालिका वडा नं. १० को कार्यालय परिसरमा कालिका नगरपालिका र सपना भिलेज सोसल इम्प्याक्ट (Sapana Village Lodge) को संयुक्त आयोजनामा सञ्चालित तीन महिने सीपमूलक तालिम तथा प्रशिक्षण कार्यक्रम आज एक विशेष समारोहका बिच सम्पन्न भएको छ।
कार्यक्रमका अवसरमा तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई प्रोत्साहनस्वरूप सिलाई मेसिन तथा प्रमाणपत्र वितरण गरिएको छ। साथै स्थानीय तहमा खानेपानीको सहजता र कृषि कार्यलाई थप सहयोग पुर्याउने उद्देश्यले प्लास्टिकका पानी ट्याङ्कीहरू पनि वितरण गरिएको छ।
कार्यक्रममा बोल्दै नगर प्रतिनिधिहरूले सीप, प्रविधि र आवश्यक सामग्रीको उपलब्धतामार्फत स्थानीय नागरिकलाई आत्मनिर्भर र स्वरोजगार बनाउन यस्ता व्यावहारिक कार्यक्रमहरूले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कालिका नगरपालिकाले आगामी दिनमा पनि विभिन्न संघ–संस्थाहरूको सहकार्यमा नागरिकको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि लक्षित यस्ता आयमूलक तथा सीपमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, संघ-संस्थाका प्रतिनिधि, प्रशिक्षक तथा स्थानीय नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij