भरतपुर : बाढीबाट आफन्त गुमाएका तथा विपद्का कारण मानसिक तनावमा रहेका परिवारलाई लक्षित गर्दै भरतपुरमा प्राथमिक मनोसामाजिक सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ।
राष्ट्रिय मनोविमर्शकर्ता महासंघ (NFOPCN) को आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको समन्वयमा सञ्चालन गरिएको कार्यक्रम भदौ ११ गतेदेखि सुरु भएको हो। महासंघकी बागमती प्रदेश सचिव राधा दवाडीको नेतृत्वमा सञ्चालित कार्यक्रम आज भदौ १५ गतेसम्म निरन्तर रहने जनाइएको छ।
बाढीका कारण आफन्त गुमाएका परिवारमा परेको मानसिक आघात, तनाव तथा अन्य मनोसामाजिक समस्यालाई कम गर्न मनोविमर्शकर्ताले प्रत्यक्ष रूपमा परामर्श र भावनात्मक सहयोग प्रदान गरिरहेका छन्। कार्यक्रमअन्तर्गत १३ जना मनोविमर्शकर्ता प्रभावित परिवारसँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवा दिइरहेका छन्।
मनोसामाजिक परामर्शसँगै प्रभावित नागरिकलाई स्वच्छ खानेपानी, आपत्कालीन प्राथमिक स्वास्थ्य सेवा तथा आवश्यक सामग्रीसमेत उपलब्ध गराइएको छ। विपद्को समयमा भौतिक राहतसँगै मानसिक स्वास्थ्य र मनोबललाई पनि प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
सहजकर्ता राधा न्यौपानेका अनुसार, विपद्का कारण आफन्त गुमाएका परिवार गहिरो मानसिक पीडामा रहेकाले उनीहरूको अवस्था बुझेर आवश्यक मनोसामाजिक सहयोग तथा परामर्श उपलब्ध गराउने काम भइरहेको छ। शिविर सञ्चालनमा रहेसम्म प्रभावित परिवारलाई आवश्यक सहयोग निरन्तर प्रदान गरिने उनले बताइन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij