काठमाडौँ : पछिल्लो तीन महिनादेखि क्यान्सर उपचारका लागि अत्यावश्यक मानिएका ‘सिस्प्लाटिन’ र ‘कार्बोप्लाटिन’ औषधिको बजारमा चरम अभाव देखिएको छ ।
सरकारले आपूर्ति सहज भइरहेको बताए पनि क्यान्सरका बिरामीलाई नभई नहुने यी औषधिहरूको अभाव कायमै छ ।
भारतीय बजारमा औषधिको मूल्य बढे पनि नेपालमा समायोजन हुन नसक्दा आयातकर्ताहरूले प्लाटिनम समूहका औषधि तथा स्लाइनजन्य औषधिहरू निकै कम मात्रामा आयात गरेका छन् ।
अहिले बिरामीहरूले सहजै फार्मेसीमा पुगेर औषधि पाउने अवस्था छैन । औषधि व्यवस्था विभागले तोकेका अधिकांश स्वास्थ्य संस्थामा समेत सिस्प्लाटिन र कार्बोप्लाटिन उपलब्ध छैनन् । क्यान्सर रोग विशेषज्ञहरूका अनुसार प्लाटिनम समूहका यी औषधिहरू पेट, स्तन, फोक्सो, अण्डाशय, ठूलो आन्द्रा र सानो आन्द्रालगायत विभिन्न प्रकारका क्यान्सरको उपचारमा प्रयोग गरिन्छ ।
औषधि व्यवस्था विभागले गत जेठ २६ गते क्यान्सर उपचारमा अत्यावश्यक मानिने केही औषधिहरू तोकिएका ११ वटा स्वास्थ्य संस्थाबाट उपलब्ध हुने जानकारी दिएको थियो ।
विभागले सूचना जारी गर्दै क्यान्सर रोगीहरूको उपचारमा प्रयोग हुने सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन लगायतका औषधिहरू ती संस्थाहरूमा उपलब्ध रहेको जनाएको थियो । नेपालमा यी औषधिहरू पूर्ण रूपमा विदेशबाट आयात हुने गर्दछन् ।
काठमाडौंस्थित डीकेएम फर्मास्युटिकल्स प्रालिका सुरजकुमार टिवडेवालले भारतमा खरिद गरेर नेपाल ल्याउँदा महँगो पर्ने भएकाले अभाव भएको बताए । उनले भने, ‘भारतमा मूल्य महँगो भयो तर यहाँ बढ्न सकेन । खरिद मूल्यभन्दा सस्तोमा बिक्री गर्नुपर्ने भएपछि कसरी आयात गर्नु ?’ काठमाडौंस्थित सिजल फर्माका अञ्जन पुडासैनीले पनि सिस्प्लाटिन र कार्बोप्लाटिन मौज्दात नरहेको बताए । विभागले यो फार्मेसीमा सम्पर्क गर्न अनुरोध गरे पनि पुडासैनीले भने, ‘हामीकहाँ अहिले यी दुवै औषधि छैनन् । किन छैनन् भनेर एक पटक औषधि व्यवस्था विभागलाई नै सोध्नुहोस् न ।’
यस्तै, नेपालगञ्जस्थित जानकी अस्पतालका रञ्जित राजवंशीले पनि सिस्प्लाटिन नभएको र कार्बोप्लाटिन १५० एमजीको मात्रै बाँकी रहेको जानकारी दिँदै बजारमा यसको अभाव रहेको बताए ।
भक्तपुर क्यान्सर अस्पताल र चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसहित देशभरका स्वास्थ्य संस्थाहरूमा क्यान्सर उपचारमा प्रयोग हुने अति आवश्यक प्लाटिनम–आधारित केमोथेरापी औषधिहरू (सिस्प्लाटिन, कार्बोप्लाटिन र अक्सालिप्लाटिन) को चरम अभाव छ ।
भक्तपुर क्यान्सर अस्पतालकी फार्मेसी इन्चार्ज अनिता दुवालले पर्याप्त मात्रामा सिस्प्लाटिन र कार्बोप्लाटिन नभएको बताइन् । उनले भनिन्, ‘कार्बोप्लाटिन १५० एमजी र ४५० एमजीको तथा सिस्प्लाटिन ५० एमजीको केही मात्रामा मात्र छ । यो पर्याप्त छैन र स्टकमा भएको औषधि पनि सकिन लागेको छ ।’
औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले बजारमा कार्बोप्लाटिन र सिस्प्लाटिन जस्ता औषधिको अभाव भएको स्वीकार गरे । उनले भने, ‘हामीले सरकारसँग पटक–पटक अनुरोध गर्यौँ । मूल्य अनुगमन समितिको बैठक बसेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव पनि अघि बढ्यो, तर औषधि क्षेत्र सरकारको प्राथमिकतामा परेको देखिँदैन । हामी सरकारको निर्णयको प्रतीक्षामा छौँ ।’
उनले स्वास्थ्य मन्त्री निशा मेहताले औषधिको मूल्य समायोजन गर्ने सन्दर्भमा संसद्मा दिएको मन्तव्यलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए ।
किन भयो अभाव ?
भारतलगायत अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढे पनि नेपालमा लामो समयदेखि आयातित औषधिहरूको मूल्य समायोजन हुन सकेको छैन । अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भए पनि नेपालमा पुरानै दर कायम हुँदा घाटा खाएर बिक्री गर्नुपरेको व्यवसायीहरूको गुनासो छ ।
विगत १० वर्षदेखि औषधिको मूल्य समायोजन हुन सकेको छैन । यसअघि ११७ प्रकारका औषधिको मात्र मूल्य समायोजन भएको थियो, जबकि बजारमा १० हजारभन्दा बढी प्रकारका औषधिहरू बिक्री भइरहेका छन् ।
विभाग र मन्त्रालयका अधिकारीहरूबीच हाल अभाव देखिएका क्यान्सरका औषधि र स्लाइनजन्य औषधिहरूको मूल्य समायोजन गर्ने वा अन्य विकल्प खोज्नेबारे छलफल भएको थियो । कच्चा पदार्थ र डलरको भाउ बढेका कारण अन्तर्राष्ट्रियस्तरमै औषधिको उत्पादन लागत बढेको छ ।
नेपालमा हरेक वर्ष २२ देखि २६ हजारभन्दा बढी नयाँ क्यान्सर बिरामीहरू पहिचान हुने गरेका छन् । यस्तो अवस्थामा औषधिको मूल्य समायोजनका लागि औषधि परामर्श परिषद्को बैठक कहिले बस्ने भन्ने अझै अन्योल छ ।
गत असार ३ गते स्वास्थ्यमन्त्री मेहताले प्रतिनिधि सभाको बैठकमा औषधिको मूल्य समायोजनका सन्दर्भमा एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने बताएकी थिइन् । तर, संसद्मा सो प्रतिबद्धता जनाएको दुई महिना बितिसक्दा पनि बैठक बस्न सकेको छैन ।
औषधि व्यवस्था विभागकी सूचना अधिकारी सचिता जोशीले बजारमा औषधिको अभाव हुन नदिन आयातकर्ताहरूसँग छलफल भइरहेको बताइन् । भनिन्, ‘सिस्प्लाटिन र कार्बोप्लाटिन लगायतका औषधिको अभावबारे आयातकर्ताहरूसँग संवाद भइरहेको छ । यीसहित ९७ वटा औषधिको मूल्य समायोजनबारे छलफल भइरहेको छ, औषधि परामर्श परिषद्को बैठकले यसबारे थप निर्णय गर्नेछ ।’
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रवक्ता समिरकुमार अधिकारीले अनुदानमार्फत क्यान्सर उपचारका औषधिहरू आएको र केही दिनमा आपूर्ति सहज हुने बताए । भने, ‘कार्बोप्लाटिन र सिस्प्लाटिनसहितका केही औषधिहरू भर्खरै प्राप्त भएका छन् । अब यी औषधिहरू बिस्तारै सरकारी अस्पतालहरूमा पठाइनेछ, त्यसपछि स्थिति सहज हुँदै जानेछ ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij