इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिङस्थित वडा कार्यालयमा विपद् पूर्वतयारी तथा व्यवस्थापनसम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
वडा अध्यक्ष तेजबहादुर शेरचनको अध्यक्षतामा भएको छलफलमा स्थानीय प्रशासन तथा सुरक्षा निकाय, नेपाल प्रहरी, रेडक्रस, स्वास्थ्यकर्मी, टोल सुधार समिति, आमा तथा महिला समूह, युवा क्लब, होटल तथा व्यवसायी, उद्योग वाणिज्य संघ, उद्योग संघ, इच्छाकामना चेम्बर अफ कमर्स, राफ्टिङ व्यवसायी, विद्यालय, पत्रकार तथा सञ्चारमाध्यम, सामाजिक संस्था र सचेत नागरिकलगायत विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।
सम्भावित विपद्का समयमा सूचना प्रवाह, खोज तथा उद्धार, स्वास्थ्य सेवा, स्वयंसेवक परिचालन, सुरक्षित स्थानमा स्थानान्तरण, राहत वितरण तथा विभिन्न निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
छलफलमा विपद्को समयमा तत्काल घरबाट बाहिरिनुपर्ने अवस्था आउन सक्ने भएकाले प्रत्येक परिवारले ‘झटपट झोला’ (Go-Bag) तयार राख्नुपर्ने विषयमा पनि विशेष जोड दिइएको छ। झोलामा महत्वपूर्ण कागजात, केही नगद, आवश्यक औषधि, पानी, सुख्खा खाना, कपडा, मोबाइल, चार्जर वा पावर बैंक, टर्च तथा आवश्यक साना सामान सुरक्षित र सजिलै भेटिने गरी राख्न सुझाव दिइएको छ।
विपद् आएपछि उद्धार र राहतका लागि दौडिनुभन्दा विपद् आउनुअघि नै आवश्यक तयारी गर्नु प्रभावकारी हुने सहभागीहरूको भनाइ थियो।
मुग्लिङबाट सुरु गरिएको सामुदायिक विपद् पूर्वतयारीको अभ्यासलाई अन्य वडा, स्थानीय तह तथा जोखिमयुक्त क्षेत्रमा समेत विस्तार गर्दै पूर्वतयारीमा जुट्न आग्रह गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij