काठमाडौं : गैरआवासीय नेपाली अभियन्ता, व्यवसायी तथा समाजसेवी आकाश बञ्जाराले रसुवा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ५ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।
गोरखाका बञ्जाराले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत ४ लाख ११ हजार १११ रुपैयाँ र गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको बाढी राहत कोषमा १ लाख रुपैयाँ सहयोग गरेका हुन्।
ग्लोबल गोर्खा समाजका उपाध्यक्ष तथा फिने हङकङका संस्थापक अध्यक्षसमेत रहेका बञ्जारा लामो समयदेखि हङकङमा व्यवसायसँगै सामाजिक तथा परोपकारी गतिविधिमा सक्रिय रहँदै आएका छन्।
बाढीबाट ठूलो जनधनको क्षति भएपछि पीडित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रारम्भिक सहयोग गरेको बञ्जाराले बताएका छन्। उनले क्षतिको विस्तृत विवरण तथा पीडितको वास्तविक आवश्यकता स्पष्ट भएपछि थप सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।
‘देशलाई समस्या परेको र देश रोएको बेला चुप लागेर बस्न सक्दिनँ। विपद्को समयमा पीडितलाई साथ दिनु मानवीय दायित्व हो,’ बञ्जाराले भने।
उनले विपद्को समयमा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापनाका लागि पनि सहयोग आवश्यक रहेको बताए।
बञ्जाराले रसुवा बाढीपीडितको राहत तथा पुनःस्थापनामा व्यक्ति, व्यवसायी, संघसंस्था तथा गैरआवासीय नेपाली समुदायलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेका छन्।
उनको सहयोगले विपद्को समयमा स्वदेश तथा विदेशमा रहेका नेपाली समुदायबाट पीडितको साथमा उभिने क्रमलाई थप प्रेरणा दिने विश्वास गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij