Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

बाढी–पहिरोको असर पर्यटनमा, पोखरा–काठमाडौंसँगै सौराहा जाने भारतीय पर्यटक पनि घटे

बाढी–पहिरोको असर पर्यटनमा, पोखरा–काठमाडौंसँगै सौराहा जाने भारतीय पर्यटक पनि घटे

काठमाडाैं : नेपालका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोको असर पर्यटन क्षेत्रमा समेत गम्भीर रूपमा देखिन थालेको छ। विपद्का कारण भारतबाट नेपाल आउने पर्यटकको संख्या घट्नुका साथै पोखरा, काठमाडौं र चितवनको सौराहा जाने भारतीय पर्यटकको आवागमनमा समेत ठूलो असर परेको छ।

सामान्य अवस्थामा भारतको सोनौली नाका हुँदै दैनिक ठूलो संख्यामा भारतीय पर्यटक नेपाल प्रवेश गर्ने गरेका थिए। तीमध्ये अधिकांश पर्यटक लुम्बिनी, पोखरा, काठमाडौं, चितवनको सौराहा लगायतका प्रमुख पर्यटकीय गन्तव्यमा पुग्ने गरेका थिए। तर पछिल्ला दिनमा बाढी, पहिरो र सडक अवरोधका कारण पर्यटकहरू लामो दूरीको यात्रा गर्न हिच्किचाउन थालेका छन्।

पछिल्ला तीन दिनयता सोनौली नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय पर्यटकहरू मुख्यतः भैरहवा, बुटवल र लुम्बिनीसम्म मात्रै सीमित हुन थालेका छन्। पोखरा र काठमाडौं जाने भारतीय पर्यटकको संख्या अहिले लगभग शून्यमा झरेको पर्यटन व्यवसायीहरूले बताएका छन्। चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहा जाने भारतीय पर्यटकको आवागमनमा समेत उल्लेख्य कमी आएको छ।

सामान्य दिनमा सोनौली नाकाबाट दैनिक औसत १५ देखि २० वटा पर्यटक बस तथा ४५ देखि ५० वटा पर्यटक सवारीसाधन नेपालका विभिन्न पर्यटकीय गन्तव्यतर्फ जाने गरेका थिए। तीमध्ये उल्लेख्य संख्यामा पर्यटक पोखरा, काठमाडौं र चितवनको सौराहा पुग्ने गरेका थिए। तर अहिले अवस्था फेरिएको छ। शुक्रबार मात्रै पाँचवटा पर्यटक बस लुम्बिनी पुगेका थिए भने करिब १० वटा पर्यटक सवारीसाधन भैरहवा र बुटवलसम्म मात्र पुगेका थिए। पोखरा, काठमाडौं तथा सौराहा जाने पर्यटक तथा पर्यटक सवारीसाधनको संख्या भने निकै न्यून रहेको बताइएको छ।

सडकको अवस्थाले बढायो पर्यटकको चिन्ता नेपालका विभिन्न राजमार्ग तथा सडकखण्डमा बाढी र पहिरोका कारण यातायात प्रभावित भएपछि भारतीय पर्यटकमा लामो दूरीको यात्रालाई लिएर असुरक्षा र अन्योल बढेको छ। सडकको अवस्था, यातायात सञ्चालन तथा गन्तव्यसम्म पुग्ने समयबारे निश्चित जानकारी नहुँदा कतिपय पर्यटकले पूर्वनिर्धारित यात्रा स्थगित गरेका छन्। विशेषगरी सोनौलीबाट पोखरा, काठमाडौं र चितवनतर्फ जाने सडकको अवस्थाले पर्यटन व्यवसायलाई प्रत्यक्ष असर गरेको छ। पर्यटकहरू सुरक्षित र सहज यात्रा हुने सुनिश्चितता नभएसम्म सीमित दूरीका गन्तव्य रोज्न थालेका छन्। सौराहा पर्यटनमा पनि प्रत्यक्ष असर चितवनको सौराहा भारतीय पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा परिचित छ।

विशेषगरी भारतका उत्तर प्रदेश, बिहारलगायत सीमावर्ती क्षेत्रबाट निजी सवारी तथा पर्यटक बसमार्फत सौराहा आउने भारतीय पर्यटकको संख्या उल्लेख्य हुने गरेको छ। तर बाढी–पहिरोका कारण सडक तथा यातायात प्रभावित भएपछि सौराहा आउने भारतीय पर्यटकको संख्या पनि घटेको व्यवसायीहरूको भनाइ छ। भारतीय पर्यटकको आगमनमा कमी आएपछि होटल, रेस्टुरेन्ट, सफारी, यातायात तथा अन्य पर्यटन व्यवसायमा समेत यसको असर पर्न थालेको छ। सौराहाका पर्यटन व्यवसायीहरूका अनुसार भारतीय पर्यटक नेपालका लागि महत्वपूर्ण पर्यटन बजार हुन्।

सीमावर्ती क्षेत्रबाट सहज रूपमा सडकमार्फत नेपाल आउने भएकाले मौसम तथा सडकको अवस्थाले उनीहरूको यात्रा योजनामा तत्काल प्रभाव पार्ने गर्छ। पर्यटन व्यवसायमा ठूलो क्षतिको चिन्ता नेपालको पर्यटन व्यवसायमा भारतीय पर्यटकको महत्वपूर्ण योगदान रहँदै आएको छ। धार्मिक पर्यटनसँगै प्राकृतिक तथा वन्यजन्तु पर्यटनका लागि पनि भारतीय पर्यटक नेपाल आउने गरेका छन्।

लुम्बिनी, पोखरा, काठमाडौं, चितवनको सौराहा लगायतका गन्तव्य भारतीय पर्यटकका प्रमुख रोजाइमा पर्दै आएका छन्। तर अहिले विपद्का कारण पर्यटकको यात्रा छोटिँदा यसको प्रत्यक्ष असर पर्यटन व्यवसायमा परेको छ। होटल तथा रिसोर्टमा बुकिङ घट्नुका साथै पर्यटक बस, ट्याक्सी, जिप तथा अन्य यातायात व्यवसायसमेत प्रभावित भएका छन्। व्यवसायीहरूले सडक तथा यातायातको अवस्था छिटोभन्दा छिटो सामान्य बनाउनुपर्ने बताएका छन्। पर्यटकका लागि सुरक्षित यात्रा सुनिश्चित गर्न सके मात्रै रोकिएको पर्यटन गतिविधि पुनः चलायमान बन्ने उनीहरूको भनाइ छ।

नेपालमा बाढी–पहिरोको अवस्था लम्बिँदै गएमा भारतीय पर्यटकको आगमन अझ घट्न सक्ने र त्यसको प्रत्यक्ष असर पोखरा, काठमाडौं, चितवनको सौराहा लगायतका प्रमुख पर्यटकीय गन्तव्यको पर्यटन अर्थतन्त्रमा पर्ने देखिएको छ। सडक सुरक्षित र यातायात सहज बनेपछि मात्रै भारतीय पर्यटकको नेपाल भ्रमण पुनः पुरानै लयमा फर्किने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट