इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिकाले बाढी तथा अन्य विपद्को जोखिम अझै कायमै रहेकाले नदी आसपासका क्षेत्रमा नजान र नदी तथा खोलानजिक बस्तीमा बसोबास गर्ने स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको छ।
गाउँपालिकाले कुनै पनि बेला विपद् आइपर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नवनिर्मित इच्छाकामना आधारभूत अस्पताल कुरिनटारको भवनलाई आपत्कालीन सेल्टरका रूपमा तयारी अवस्थामा राखिएको जनाएको छ।
सशस्त्र प्रहरी बल ,विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारसँगको समन्वयमा तत्काल आपत्कालीन उद्धार तथा सुरक्षित स्थानान्तरण आवश्यक परेमा प्रभावित नागरिकलाई आधारभूत अस्पतालमा सुरक्षित रूपमा राख्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो।
उहाँका अनुसार बाढी, पहिरो लगायतका जुनसुकै विपद् आइपरेमा प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न अस्पताललाई तयारी अवस्थामा राखिएको हो।अध्यक्ष गुरुङले विपद्का समयमा तत्काल उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीसमेत तयारी अवस्थामा रहेको जानकारी दिनुभयो।
गाउँपालिकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन, नदी तथा खोलाको बहाव बढेको अवस्थामा आवतजावत नगर्न र सम्भावित विपद्का संकेत देखिएमा तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij