Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रसुवा बाढीपीडितका लागि नेपाल लेयर्स कुखुरा पालक संघको १० लाख सहयोग, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा

रसुवा बाढीपीडितका लागि नेपाल लेयर्स कुखुरा पालक संघको १० लाख सहयोग, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा

चितवन : नेपाल लेयर्स कुखुरा पालक संघले रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ ।

रसुवामा आएको विनाशकारी बाढीपछि राहत तथा उद्धारका लागि सरकारले सहयोगको आह्वान गरेसँगै संघले उद्धार कोषमा आर्थिक सहयोग गरेको हो । संघका अध्यक्ष विनोद पोखरेलले विपत्तिको समयमा राज्यलाई सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको बताउनुभयो ।

बुधबार चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखालगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै अध्यक्ष पोखरेलले दुःख व्यक्त गर्नुभयो ।

उहाँले बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । उहाँले विपत्तिमा परेका परिवारप्रति समवेदना व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो ।

नेपाल लेयर्स कुखुरा पालक संघले यसअघि पनि भूकम्पलगायत विभिन्न प्राकृतिक विपत्तिमा सहयोग गर्दै आएको अध्यक्ष पोखरेलले बताउनुभयो । व्यवसाय सञ्चालनसँगै देशमा आइपर्ने विपत्तिमा आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्दै आएको उहाँको भनाइ छ ।

रसुवा बाढीबाट प्रभावित नागरिकको राहत र उद्धारमा थोरै भए पनि योगदान पुर्‍याउने उद्देश्यले संघले १० लाख रुपैयाँ सहयोग गरेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij