Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नेपालमा बाढीपहिरोपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन,२१ जनाको उद्धार

नेपालमा बाढीपहिरोपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन,२१ जनाको उद्धार

काठमाडौँ :  नेपालमा गएको विनाशकारी बाढी र पहिरोपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन बनेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। 
कैलाश मानसरोवर यात्रामा गएका करिब २०० भारतीय नागरिकले उद्धारका लागि अनुरोध गरेका छन्।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार सद्गुरुको ‘ईशा फाउन्डेसन’ को ठुलो टोली पनि सम्पर्कविहीन छ। तमिलनाडुका २१ जनाको भने उद्धार गरिएको छ।

त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत ७३ जना, तमिलनाडुका ३७ र ४९ जनाका दुई छुट्टाछुट्टै टोली, रसुवाको टिमुरेमा रहेका पश्चिम बङ्गालका ३२ जना र केरलाका ३३ जनासहित अन्य विभिन्न राज्यका ६१ जना गरी कुल २८८ जना भारतीय नागरिक बेपत्ता रहेका हुन्। 


चीनतर्फको भूभागमा पनि केही भारतीय फसेका छन्। प्रभावित क्षेत्रमा सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। भारत सरकारले सहायता स्वरूप दुईवटा विमानमार्फत राहत सामग्री नेपाल पठाएको छ।

नेपाली अधिकारीहरूका अनुसार बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ भने ९१० जना अझै बेपत्ता छन्। आपत्कालीन सहयोगका लागि नयाँ दिल्लीस्थित विदेश मन्त्रालयमा नियन्त्रण कक्ष स्थापना गरिएको छ। 


साथै, काठमाडौँस्थित भारतीय दूतावासले सहायताका लागि +९७७ ९८५१३१६८०७ र +९७७ ९७०९१०७५०० नम्बरको हटलाइन सार्वजनिक गरेको छ। नेपाल पर्यटन बोर्डले पनि टोल फ्री नम्बर १२३४ र सामान्य हटलाइन ११४४ जारी गरी उद्धार तथा राहत कार्यमा समन्वय गरिरहेको छ। 

भोटेकोशी नदीमा आएको भीषण बाढीले जनधनका साथै भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij