बेइजिङ : चिनियाँ जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमस्थल (दोभान) नजिकै एउटा ठुलो ‘ताल’ बनेको जानकारी दिएको छ । बिहीबार बिहानसम्म सो तालमा २० लाख घनमिटर पानी जम्मा भइसकेको र तालको पानी भरिएर बाहिर बग्न थालिसकेको अनुमान गरिएको छ ।
यो समाचार चीनको ग्लोबल टाइम्समा प्रकाशित भएको हो । आगामी तीन दिनभित्र सो तालमा थप ३० लाख घनमिटर पानी थपिने अपेक्षा गरिएको छ, जसले गर्दा यो ताल फुट्ने उच्च जोखिम रहेको ‘चाइना सेन्ट्रल टेलिभिजन’ले बिहीबार उल्लेख गरेको छ ।
समाचारमा मन्त्रालयले यस तालको विकासक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख छ । सम्भावित फुटाइ र आपत्कालीन उद्धार कार्यको तयारीका लागि बाढीको ‘सिमुलेशन’ र विश्लेषण भइरहेको जनाइएको छ।
नेपाल–चीन सीमाको नेपाली भू–भागबाट सुरु भएको विनाशकारी लेदोसहितको पहिरोले दक्षिण–पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ नाका (केरुङ)मा क्षति पुऱ्याएपछि चिनियाँ अधिकारीहरूले विभिन्न मोर्चामा उद्धार टोली परिचालन गरेका छन् ।
भौगोलिक कठिनाइ, निरन्तरको वर्षा र पुनः विपद् आउन सक्ने जोखिमका बीच जनमुक्ति सेना, इन्जिनियरिङ टोली, टेलिकम अपरेटर र राहत संस्थाहरूले विमान, उपकरण र राहत सामग्रीसहित उद्धार कार्यलाई तीव्र पारेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij