Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

नुवाकोटको चक्रदेवी अस्पतालमा संकट : बिजुली छैन, पेट्रोल सकियो

नुवाकोटको चक्रदेवी अस्पतालमा संकट : बिजुली छैन, पेट्रोल सकियो

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका नागरिकको उपचारका लागि विदुरस्थित चक्रदेवी अस्पतालमा ‘इमर्जेन्सी मोड’ मा सेवा सञ्चालन गरिएको छ। अस्पतालले घाइतेलाई प्राथमिक उपचार दिँदै गम्भीर अवस्थाका बिरामीलाई हेलिकप्टरमार्फत काठमाडौं पठाएको छ । चक्रदेवी अस्पतालका डा. राकेश परियारका अनुसार अस्पताल बाढी प्रभावित क्षेत्रबाट करिब एक किलोमिटरको दूरीमा रहेकाले उद्धार गरिएका घाइतेलाई उपचारका लागि सोही अस्पताल पुर्‍याइएको छ ।

बाढीले नुवाकोटको त्रिशूली बजार, बेत्रावती बजार, ढुंगे बजार र देवीघाट क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण सडक र पुल बगाएपछि प्रमुख उपचार केन्द्र त्रिशूली जिल्ला अस्पतालसम्म पुग्ने पहुँचसमेत प्रभावित भएको उनले बताए ।

ढुंगे क्षेत्रका पक्की पुल बगाउँदा आवतजावत ठप्प भएको र गम्भीर बिरामीलाई स्थलमार्गबाट काठमाडौं पठाउन सक्ने अवस्था नरहेको उनले जानकारी दिए । डा. परियारका अनुसार बिहीबारसम्म अस्पताल पुर्‍याइएका २४ जना बिरामीमध्ये ९ जनाको अवस्था गम्भीर थियो । उनीहरूलाई नेपाली सेनासँग समन्वय गरी हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

अन्य बिरामीको भने चक्रदेवी अस्पतालमै उपचार भइरहेको छ । अहिले पनि बिरामी ल्याउने क्रम जारी रहेको र अस्पतालमा आपतकालीन अवस्था जस्तै गरी उपचार भइरहेको डा. परियारले बताए । खोज तथा उद्धार कार्य भर्खरै तीव्र हुन थालेकाले घाइतेको संख्या अझ बढ्न सक्ने उनी बताउँछन् ।

‘अहिले त खोजी तथा उद्धार कार्य बल्ल सुरु भएको छ,’ उनले भने, ‘अझ ठूलो संख्यामा बिरामी आउन सक्ने सम्भावना देखिएको छ ।’ १५ शय्याको चक्रदेवी अस्पतालले आवश्यक परे ‘ट्रायाज’ प्रणालीमार्फत एकै पटक ठूलो संख्यामा बिरामी व्यवस्थापन गर्ने तयारी गरेको छ। तर अस्पतालमा जनशक्ति सीमित रहेको डा. परियारले बताए ।

उनका अनुसार अस्पतालमा दुई जना चिकित्सकसहित सीमित स्वास्थ्यकर्मीले निरन्तर सेवा दिइरहेका छन् । बाढीपछि अस्पतालको उपचार सेवामा सबैभन्दा ठूलो चुनौती भने बिजुली आपूर्ति बनेको छ । विद्युत् सेवा अवरुद्ध हुँदा बिरामीको निरन्तर निगरानीका लागि आवश्यक उपकरण सञ्चालन गर्न समस्या भएको छ ।

अस्पतालले अहिले पेट्रोलबाट चल्ने इन्भर्टरको सहारामा उपचार सेवा सञ्चालन गरिरहेको छ । तर पेट्रोलको अभावले यो व्यवस्था पनि लामो समयसम्म कायम राख्न चुनौती देखिएको छ । बाढीले ढुंगे क्षेत्रको पेट्रोल पम्पसमेत बगाएको र बट्टारमा रहेको अर्को पेट्रोल पम्पमा पेट्रोल अभाव भएपछि समस्या थपिएको डा. परियारले बताए । ‘मुख्य समस्या अहिले बिजुलीको हो । बिजुली नभएपछि बिरामीलाई निरन्तर मोनिटरमा राख्न गाह्रो भएको छ,’ उनले भने, ‘जेनेरेटर चलाउनका लागि पेट्रोलसमेत सकिएको छ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट