Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

बाढीपीडित नेपाललाई भारत, चीन र विश्व बैंकको साथ, अर्थमन्त्रीसँग भने– ‘कस्तो सहयोग पठाऊँ ?’

बाढीपीडित नेपाललाई भारत, चीन र विश्व बैंकको साथ, अर्थमन्त्रीसँग भने– ‘कस्तो सहयोग पठाऊँ ?’

काठमाडौं : बाढीबाट प्रभावित नेपालमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्काल सहयोगको प्रतिबद्धता जनाउँदै सरकारसँग समन्वय थालेका छन्। बाढीको समाचार सार्वजनिक भएलगत्तै बुधबार बिहान १०ः३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले आपत्कालीन सहयोगस्वरूप विभिन्न स्रोतबाट २५ अर्ब रुपैयाँसम्म सहयोग गर्न सकिने जानकारी गराएका थिए।

दक्षिणी छिमेकी भारतले पनि बाढी प्रभावितका लागि तत्काल आवश्यक पर्ने राहत सामग्रीको सूची उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्री, अर्थमन्त्रीलगायत वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतबाट प्राप्त हुने राहत सामग्री आजै काठमाडौं ल्याउने तयारी भइरहेको बताएका छन्।

यस्तै, उत्तरी छिमेकी चीनले पनि बाढी प्रभावित नेपाललाई तत्काल नगद सहयोग गर्ने भएको छ। सहयोग रकम पठाउने प्रक्रिया अघि बढाउन चिनियाँ राजदूत जाङ माओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारसँग आग्रह गरेका छन्।

भारत, चीन तथा विश्व बैंकबाट प्राप्त सहयोगको प्रतिबद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले सहयोग परिचालनको मोडालिटीबारे अन्तरसरकारी समन्वय र आवश्यक छलफल भइरहेको बताएका छन्। बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि प्राप्त हुने अन्तर्राष्ट्रिय सहयोगलाई प्रभावकारी रूपमा परिचालन गर्ने सरकारको तयारी छ।

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङसहितका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपछि हालसम्म १६ जनाको शव फेला परेको छ भने ३८४ जना पर्यटक तथा पदयात्रीको अवस्था अज्ञात रहेको छ। बाढीबाट १९ वटा पुल र करिब ४० किलोमिटर सडकमा क्षति पुगेको छ। रसुवा भन्सार क्षेत्रमा रहेका ३०० भन्दा बढी सवारीसाधनसमेत बाढीले बगाएको प्रारम्भिक विवरण छ।

बुधबार बिहान करिब ९ बजे तिब्बततर्फबाट लेदोसहित अचानक आएको बाढी रसुवास्थित भोटेकोशी नदी हुँदै तल्लो तटीय क्षेत्रमा फैलिएको थियो। तीव्र बहावको बाढीले नेपालतर्फका विभिन्न बस्ती, सडक, पुल तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुर्‍याएको छ।

बाढीको प्रभाव रसुवा, नुवाकोट र धादिङसँगै गोरखा तथा चितवन आसपासका क्षेत्रसम्म परेको छ। प्रभावित क्षेत्रमा बेपत्ता तथा विस्थापितको खोजी, उद्धार र राहत कार्य जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट