इलाम : इलामको रोङ गाउँपालिकाले प्रमुख प्रशासकीय भवन निर्माणको जिम्मेवारी पाएको निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरेपछि ठेक्का सम्झौता अन्त्य गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय र विराटनगर, मोरङस्थित नमुना कन्स्ट्रक्सन प्रा.लि. बिच भएको निर्माण सम्झौता गाउँपालिकाले रद्द गरेको हो। गाउँपालिकाका अनुसार भवन निर्माणका लागि २०७८ मङ्सिर १७ गते सम्झौता भएको थियो। पटक-पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न नभएपछि पछिल्लो पटक थपिएको अन्तिम म्याद २०८२ पुस १५ गते नै समाप्त भएको थियो।
म्याद सकिएपछि पूर्वनिर्धारित क्षतिपूर्ति लागू भएको २०० दिन पुरा भइसक्दा समेत निर्माण व्यवसायीले काम अघि बढाएका थिएनन्। गाउँपालिकाले निर्माण सम्पन्न गर्न निरन्तर लिखित तथा मौखिक ताकेता गर्दा समेत कम्पनीले ठेक्का सम्झौताको सर्तबमोजिम आफ्नो करारीय दायित्व पूरा नगरेको जनाएको छ।
निर्माण व्यवसायीबाट सारभूत रूपमा ठेक्का सम्पन्न नहुने परिस्थिति सिर्जना भएपछि गाउँपालिकाले कानुनी प्रक्रिया अघि बढाएको हो। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (२) (क) अनुसार ठेक्का सम्झौताको जीसीसी ७२ मा भएको व्यवस्था, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२१ (ग) मा रहेको प्रावधानलाई आधार मानिएको छ। गाउँ कार्यपालिकाको गत २०८३ भदौ ५ गते बसेको बैठकको निर्णयानुसार सम्झौता अन्त्य गरिएको जानकारी गाउँपालिकाले मंगलबार जारी सार्वजनिक सूचना मार्फत दिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij