सिरहा : सिरहाको गोलबजार नगरपालिका-३ स्थित गागन खोला किनारमा करिब ५० वर्षीया महिलाको शव फेला परेको छ। मंगलबार स्थानीयवासीले भैँसी चराउने क्रममा खोलाको किनारमा घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गोलबजारको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
हालसम्म मृतक महिलाको पहिचान खुल्न सकेको छैन। उनको साथबाट पहिचान खुल्ने कुनै कागजात फेला परेको छैन। महिलाको मृत्युको कारणबारे पनि तत्काल यकिन हुन नसकेको प्रहरीले जनाएको छ। शवको पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्र घटनाको वास्तविक कारण खुल्ने प्रहरीको भनाइ छ।
घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालले जानकारी दिए। ‘मृतक महिलाको पहिचानका लागि स्थानीयवासी तथा आसपासका क्षेत्रबाट आवश्यक जानकारी संकलन भइरहेको छ,’ सूचना अधिकारी पालले भने।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij