रत्ननगर : पूर्वी चितवनको रत्ननगर नगरपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा १११ जोडीले वैवाहिक सम्बन्ध विच्छेद गरेका छन् । नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाका अनुसार सो अवधिमा ५४१ जोडीले विवाह दर्ता गराएका छन् । विवाह दर्ताको तुलनामा सम्बन्ध विच्छेदको संख्या २० प्रतिशतभन्दा बढी देखिएको छ । नगरपालिकाको तथ्यांकले पछिल्लो एक वर्षमा रत्ननगरमा पारिवारिक सम्बन्धमा देखिएको उतारचढावलाई समेत देखाएको छ ।
वडागत विवरणअनुसार वडा नम्बर ९ मा सबैभन्दा धेरै १२ वटा सम्बन्ध विच्छेद दर्ता भएका छन् भने वडा नम्बर ८ मा कुनै पनि सम्बन्ध विच्छेद दर्ता भएको छैन । सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा रत्ननगरमा जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराइ गरी कुल २ हजार ६९९ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।
सो अवधिमा ८८६ जना बालबालिकाको जन्मदर्ता भएको छ । जन्मदर्ता भएकामध्ये ४६२ पुरुष र ४२४ महिला छन् । वडा नम्बर १३ मा सबैभन्दा धेरै ८९ जनाको जन्मदर्ता भएको छ भने वडा नम्बर ६ मा सबैभन्दा कम ३४ जनाको जन्मदर्ता भएको छ । त्यस्तै, नगरभरि ४८२ जनाको मृत्यु दर्ता भएको छ । वडा नम्बर १३ मा सबैभन्दा धेरै ४४ जनाको मृत्यु दर्ता हुँदा वडा नम्बर २ मा सबैभन्दा कम १६ जनाको मृत्यु दर्ता भएको छ । विवाह दर्तातर्फ वडा नम्बर १३ मा सबैभन्दा धेरै ४८ वटा र वडा नम्बर ६ मा सबैभन्दा कम १७ वटा दर्ता भएका छन् ।
बसाइँसराइमा रत्ननगरप्रति आकर्षण
सम्बन्ध विच्छेदका घटना बढिरहँदा रत्ननगरमा बाहिरबाट स्थायी रूपमा बसाइँ सरेर आउने नागरिकको संख्या भने उल्लेख्य देखिएको छ । नगरपालिकाको तथ्यांकअनुसार एक वर्षमा जन्मदर्ता भएका बालबालिकाको संख्याभन्दा बाहिरबाट रत्ननगरमा बसाइँ सरेर आउने नागरिकको संख्या करिब दोब्बर छ ।
५ सय ५ वटा दर्तामार्फत १ हजार ६०३ जना नागरिक बाहिरबाट रत्ननगर भित्रिएका छन् । सोही अवधिमा १७४ वटा दर्तामार्फत ४५८ जना मात्रै रत्ननगरबाट बाहिरिएका छन् । यसअनुसार रत्ननगरबाट बाहिरिनेको तुलनामा भित्रिने नागरिकको संख्या झन्डै चार गुणा बढी देखिन्छ । समग्र व्यक्तिगत घटना दर्तामा वडा नम्बर १३ सबैभन्दा अगाडि रहेको छ । सो वडामा एक वर्षमा २६२ वटा व्यक्तिगत घटना दर्ता भएका छन् भने वडा नम्बर ६ मा सबैभन्दा कम ८५ वटा घटना दर्ता भएका छन् । नगरपालिकाको तथ्यांकले रत्ननगरमा एकातर्फ सम्बन्ध विच्छेदका घटना देखिए पनि अर्कोतर्फ बसाइँसराइमार्फत नयाँ जनसंख्या थपिने क्रम पनि तीव्र रहेको देखाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij