इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा नवनिर्मित एकीकृत सामुदायिक भवनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ। इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा भवनको औपचारिक उद्घाटन गरिएको हो।
समुद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले लेवाटारमा मगर होमस्टे सञ्चालन गर्न सुझाव दिनुभयो। इच्छाकामनाका ठूला होटल तथा रिसोर्टमा आउने पर्यटकलाई नवनिर्मित सामुदायिक भवनमार्फत मगर समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा जीवनशैलीसँग परिचित गराउन सकिने उहाँले बताउनुभयो।
मगर समुदायको कला, संस्कृति र परम्पराको संरक्षणसँगै सामुदायिक भवनलाई स्थानीयस्तरमै आयआर्जनको माध्यम बनाउन सकिने अध्यक्ष गुरुङको भनाइ थियो। उहाँले भवनलाई नियमित प्रयोगमा ल्याएर आम्दानीको स्रोतका रूपमा विकास गर्न आग्रह गर्दै होमस्टे सञ्चालनका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अध्यक्ष गुरुङले सामुदायिक भवनको संरक्षण र नियमित उपयोगमा ध्यान दिन आग्रह गर्दै भवनलाई स्थानीय समुदायको आर्थिक तथा सामाजिक गतिविधिको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। इच्छाकामनाको समग्र विकासका लागि प्रदेश र केन्द्र सरकारसँग गाउँपालिकाले आवश्यक समन्वय गरिरहेको उल्लेख गर्दै उहाँले विकास निर्माणमा सबैको एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
कार्यक्रममा इच्छाकामना गाउँपालिकाका निवर्तमान अध्यक्ष गीता कुमारी गुरुङले आफूहरू निर्वाचित भएर आएपछि गाउँपालिकाका प्रत्येक वडामा एकीकृत सामुदायिक भवन निर्माण गर्ने उद्देश्यका साथ काम अघि बढाएको बताउनुभयो। आफ्नो कार्यकालमा सुरु गरिएका कतिपय सामुदायिक भवन तथा अन्य विकास निर्माणका आयोजना निर्माण सम्पन्न हुन बाँकी रहे पनि अहिले ती आयोजना क्रमशः सम्पन्न हुँदै गएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो।
निवर्तमान उपाध्यक्ष कृतिकुमार श्रेष्ठले आफूहरू २०७४ सालमा निर्वाचित भएर आएपछि स्थानीयवासीसँग छलफल गरी लेवाटारमा एकीकृत सामुदायिक भवनको आवश्यकता महसुस गरेर निर्माण कार्य अघि बढाइएको बताउनुभयो। त्यसपछि निर्वाचित जनप्रतिनिधिहरूले पनि निरन्तर बजेट विनियोजन गर्दै भवन निर्माण सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो। भवन निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका स्थानीयवासीले गरेको सहयोगको प्रशंसा गर्दै उहाँले सबैलाई धन्यवाद दिनुभयो।
इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले एकीकृत सामुदायिक भवनलाई स्थानीय समुदायको आम्दानीको स्रोतका रूपमा विकास गर्न सकिने बताउनुभयो। भवनलाई केवल कार्यक्रम गर्ने स्थलमा सीमित नगरी मगर होमस्टे सञ्चालनलगायतका आयआर्जनमूलक गतिविधिमा प्रयोग गर्नुपर्ने उहाँको भनाइ थियो।
वडाध्यक्ष उप्रेतीले इच्छाकामनामा आउने पर्यटकलाई मगर समुदायको मौलिक संस्कार, संस्कृति, परम्परा, खानपान तथा जीवनशैलीसँग परिचित गराउन सके त्यसबाट स्थानीय समुदायले आर्थिक लाभ लिन सक्ने बताउनुभयो। स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पर्यटनसँग जोडेर भवनको दिगो उपयोग गर्न सकिने उहाँले उल्लेख गर्नुभयो।
यसैगरी, इच्छाकामना गाउँपालिका–४ मा रहेका प्रतिष्ठित उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय समाजप्रतिको दायित्व पूरा गर्नुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो।
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० इच्छाकामना इन्चार्ज प्रताप गुरुङले ठूलो कारोबार गर्ने उद्योग तथा प्रतिष्ठानहरूले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय विकासमा पर्याप्त योगदान गर्नुपर्ने बताउनुभयो। प्रतिष्ठानहरूले आफ्नो आम्दानीको कम्तीमा ५ प्रतिशत रकम सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय क्षेत्रमा लगानी गर्ने वातावरण बनाउन सके इच्छाकामनाको विकासले थप गति लिने उहाँको भनाइ थियो।
उद्योग तथा प्रतिष्ठानबाट स्थानीय समुदायले रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक विकासका क्षेत्रमा प्रत्यक्ष लाभ पाउनुपर्नेमा जोड दिँदै गुरुङले त्यसका लागि स्थानीय जनप्रतिनिधिले आवश्यक पहल र समन्वय गर्नुपर्ने बताउनुभयो। एकीकृत सामुदायिक भवनलाई स्थानीय समुदायको सामाजिक, सांस्कृतिक तथा आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्न सकिने उहाँले बताउनुभयो।
नेकपा एमालेका अध्यक्ष प्रकाश अधिकारीले लेवाटारवासीबीचको एकता र सहकार्यकै कारण सामुदायिक भवन निर्माण सम्भव भएको बताउनुभयो। समाजमा एकअर्काप्रति आरोप–प्रत्यारोप गर्ने प्रवृत्ति बढिरहेका बेला लेवाटारका स्थानीयवासी एकताबद्ध भएर विकास निर्माणमा जुटेको उहाँले प्रशंसा गर्नुभयो। समग्र विकासका लागि आफू र आफ्नो पार्टीले सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
भवन व्यवस्थापन समितिका अध्यक्ष भरत थापा मगरले तत्कालीन वडाध्यक्ष स्वर्गीय होमबहादुर रानामगरको पहलमा भवन निर्माण कार्य सुरु भएको स्मरण गर्नुभयो। उहाँले आर्थिक वर्ष २०७७र७८ देखि हालसम्म विभिन्न चरणमा बजेट विनियोजन गरी भवन निर्माणमा सहयोग गर्ने वर्तमान तथा निवर्तमान जनप्रतिनिधि, जग्गा उपलब्ध गराउने व्यक्ति तथा आर्थिक सहयोग गर्ने चन्दादाता र निर्माण समितिलाई धन्यवाद दिनुभयो।
सात वर्षपछि भवनको उद्घाटन गर्न पाउँदा लेवाटारवासीमा खुसी छाएको उहाँले बताउनुभयो।
कार्यक्रममा इच्छाकामना गाउँपालिकाका निवर्तमान कार्यवाहक वडाध्यक्ष विदुर सिलवाल, निवर्तमान वडा सदस्य सावित्री गुरुङ, भवन व्यवस्थापन समितिका सचिव रामशरण सिलवाल, इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी प्रमुख डिल्लबहादुर खड्कालगायतले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष राजु थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने भवन व्यवस्थापन समितिका सचिव विशाल थापा मगरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
सो अवसरमा एकीकृत सामुदायिक भवन तथा बकुल्लाहरी जलददेवीको मन्दिर सम्म जानेबाटोका लागि जग्गा दान गर्ने स्वर्गी बिल हादुर मगरका छोरा बुहारी कमलसिङ मगर र लालमाया मगर,भूपति ज्ञवालीका छोरा हाल अमेरीका रहनुभएका कुशल ज्ञवाली र बाटोका लागि जग्गका साथै भवनको भान्सा कोठा निर्माणका लागि जग्ग दान गर्नुहुने सिद्धिचरण शेरचनका छोरा उज्वल शेरचन, भवनका लागि आर्थिक सहयोग गर्नेहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
आर्थिक वर्ष २०७७र७८ देखि निर्माण थालिएको एकीकृत सामुदायिक भवन निर्माणका लागि इच्छाकामना गाउँपालिकाले विभिन्न चरणमा गरी रु। ७६ लाख बजेट विनियोजन गरेको थियो।
एकीकृत सामुदायिक भवन लेवाटार व्यवस्थापन समितिका अध्यक्ष भरत थापा मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij