Logo

Aug 24 2026 | २०८३, भाद्र ८गते

मुख्यमन्त्री थापाको विश्वासको मतको विषयलाई लिएर नेकपामा विवाद

मुख्यमन्त्री थापाको विश्वासको मतको विषयलाई लिएर नेकपामा विवाद

हेटाैँडा :  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने तयारी गरिरहँदा सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी(नेकपा) भित्र विवाद देखिएको छ । सोमबार विश्वासको मत लिने तयारी भइहँदा नेकपाको संसदीय दलभित्रको आन्तरिक विवाद सुरु भएको हो ।

मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । उक्त विषयमा छलफलका लागि नेकपा बागमती प्रदेश संसदीय दलले बोलाइएको बैठक बहुमत सांसदहरू अनुपस्थित भएका छन् ।

सरकार गठन, मन्त्री छनाेट, पावर सेयरिङ र सांसदहरूको भूमिका माथिको हस्तक्षेपका कारण संसदीय दलको बैठक बहिस्कारको स्थिति बनेको हो । नेकपाका एक नेताका अनुसार आइतबार दिउँसो १ बजे बोलाइएको संसदीय दलको बैठकमा नेकपाका १३ सांसद मात्र उपस्थित थिए।


नेकपाका २६ जना प्रदेश सभा सदस्यमध्ये १३ जना सांसदहरू बैठकमा अनुपस्थित भएको उनको भनाइ छ । संसदीय दलको नेताको एकलौटी निर्णय गर्ने कार्यशैली, मन्त्री चयनमा भएको एकलौटी निर्णय र सरकार गठनका क्रममा अपनाइएको असंवैधानिक प्रक्रियालाई लिएर उनीहरुले असन्तुष्ट व्यक्त गरेका हुन्।

आइतबार हेटौँडामा बस्ने भनिएको बैठकमा असन्तुष्ट सांसदहरू उपस्थित नभएपनि बैठक सञ्चालन गरिएको छ। विषेशगरी बैठकमा नेकपा सचिव गंगानारायण श्रेष्ठ, संसदीय दलका उपनेता कृष्ण प्रसाद शर्मा खनाल, सांसद युवराज श्रेष्ठ, राजेन्द्रमान श्रेष्ठ लगायतका सांसदहरू उपस्थित छैनन् । नेकपाको (तत्कालीन एकीकृत समाजवादीका सांसदहरू) बैठकमा उपस्थित नरहेको र उनीहरूसँगै नेकपाका १३ सांसदहरू बैठकमा उपस्थित नभएका हुन्।


‘राजनीतिक तथा व्यवहारिक पक्षमा हाम्रो असहमति छ। विशेषगरी सरकार गठनका क्रममा राप्रपा भित्र विग्रह गराइएको र पार्टीलाई विभाजनको अवस्थामा पुर्‍याइएको छ । यो राजनीतिक नैतिकताको विषय होइन ।’ उनले भने, ‘सरकार गठनका सन्दर्भमा दलहरूबिच पर्याप्त छलफल नै नगरी संवैधानिक प्रक्रियामा नै प्रश्न उठ्ने गरी हतारमा अघि बढियो । यसले पार्टीको छविमा समेत आँच पुर्‍याएको छ ।’

मुख्यमन्त्री तथा संसदीय दलका नेताले मन्त्री छनौट गर्दा संसदीय दलमा कुनै छलफल नगरी एकलौटी गरेको नेकपा अर्का सांसदको आरोप छ । सरकारको न्यूनतम साझा कार्यक्रम र कार्ययोजना स्पष्ट नभएको तथा पार्टीभित्रका अनुभवी र सक्षम सदस्यहरूलाई उपेक्षा गरी शक्ति बाँडफाँड गरिएको उनको भनाइ छ ।

विगतमा भएका ३ बुँदे र ५ बुँदे सहमतिहरूको कार्यान्वयनमा नेतृत्वले बेवास्ता गरेको र ती सहमतिका सैद्धान्तिक तथा वैचारिक पक्षमा स्पष्टता नआएको असन्तुष्ट पक्षको जिकिर छ । उनीहरुले संसदीय दलको घेराभन्दा बाहिर गएर पार्टीको केन्द्रीय शीर्ष नेतृत्वसँग सिधै छलफल गर्नुपर्ने र त्यहाँबाटै समस्याको समाधान खोजिनुपर्ने माग गरेका छन्।

मुख्यमन्त्री थापा मगरले मङ्गलवार प्रदेश सभाबाट विश्वासको मत लिने कार्यतालिका छ । तर, नेकपाका दलका १३ सांसदहरू रुष्ट हुँदा थप जटिलता हुने देखिएको छ । उक्त विवादका बिच नेकपाले मुख्यमन्त्री थापाको विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने तयारी गरेको छ।

‘केवल ह्विप जारी गरेर मात्रै परिस्थिति सहज हुँदैन। नेतृत्वले पहिले छलफलको वातावरण बनाउनुपर्छ र हाम्रा मागहरूको सम्बोधन गर्नुपर्छ । तत्कालीन समाजवादी पक्ष र अन्य असन्तुष्ट धारहरू एकजुट हुने अवस्था बनेको छ,’ ती सांसदले भने  

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij