Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

देउवा दोस्रोपटक चुनदेवीमा, नेता–कार्यकर्तासँग छलफल

देउवा दोस्रोपटक चुनदेवीमा, नेता–कार्यकर्तासँग छलफल

काठमाडौं : नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा १५औँ महाधिवेशनको तयारीलाई लक्षित गर्दै आफ्नो समूहले स्थापना गरेको चुनदेवीस्थित सम्पर्क कार्यालयमा दोस्रोपटक पुगेका छन्। स्वास्थ्य उपचारपछि नेपाल फर्किएको केही समयमै देउवा आइतबार पुनः चुनदेवीस्थित कार्यालय पुगेका हुन्।

आइतबारको भेटमा देउवाले पार्टीभित्रको पछिल्लो विवाद, आगामी महाधिवेशनको तयारी तथा समूहलाई कसरी अघि बढाउने भन्ने विषयमा नेता–कार्यकर्तासँग छलफल गरेका छन्। छलफलका लागि विभिन्न तहका नेता तथा कार्यकर्ता कार्यालयमा पुगेका थिए।

देउवा बस्ने मुख्य कुर्सीअगाडिको टेबुलमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको नेमप्लेट राखिएको थियो। गत पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले दिएको आधिकारिकतालाई सर्वोच्च अदालतको डिभिजन बेञ्चले समेत सदर गरिसकेको छ। यद्यपि, उक्त निर्णयविरुद्ध देउवाले दायर गरेको रिटमा सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको छ।

यसबीच इतर पक्षले विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई स्वीकार नगरी देउवालेलाई नै सभापतिका रूपमा प्रस्तुत गर्दै आएको छ। नेपाल फर्किएयता चुनदेवीस्थित कार्यालयमा पनि देउवाको सक्रियता बढेको छ।

यसअघि साउन २८ गते स्वास्थ्य उपचार सकेर नेपाल फर्किएलगत्तै देउवा सिधै यही कार्यालय पुगेका थिए। विशेष महाधिवेशनपछि पार्टीको नेतृत्वबाट बाहिरिएपछि देउवा समूहले १५औँ महाधिवेशनको तयारी, समन्वय र संगठनात्मक गतिविधि अघि बढाउन चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको थियो । तर, देउवा कांग्रेसको केन्द्रीय कार्यालय सानेपा भने पुगेका छैनन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट