चितवन : चर्चित हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले राज्यबाट अपेक्षित सहयोग नपाएपछि आफू फेरि मातृभूमि छाड्न बाध्य भएको बताएका छन्।
चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणका क्रममा सिर्जित ऋण भार र अधुरो सपनाका कारण उत्पन्न समस्या समाधानका लागि राज्यका विभिन्न निकायमा पटक–पटक आग्रह गर्दा पनि सहयोग नपाएको उनले बताएका हुन्।
आफ्नै देशमा केही गरौँ र मातृभूमिलाई योगदान दिऔँ भन्ने उद्देश्यले छोरीसहित नेपाल फर्किएर दुई महिनासम्म समस्या समाधानका लागि निरन्तर प्रयास गरे पनि राज्यले आफ्नो आवाज नसुनेको उनको गुनासो छ।
उनका अनुसार समस्या समाधान हुनुको साटो रंगशालासँग सम्बन्धित १५ करोड रुपैयाँ विनियोजित बजेटसमेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आएको छ। रंगशालासँग जोडिएको १८ करोड ४३ लाख रुपैयाँको ऋण भार, अधुरो सपना र पीडा बोकेर पुनः मातृभूमिबाट फर्किनुपरेको उनले बताएका छन्।
‘आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको छ,’ कट्टेलले सामाजिक सञ्जालमा लेखेका छन्।
देशमा इमानदारीपूर्वक केही गरौँ र आफ्नै माटोलाई केही दिऔँ भन्ने सपना बोकेर १० वर्ष समाज र राष्ट्रका लागि समर्पित हुँदा राज्यबाट पाएको व्यवहारप्रति उनले दुःख व्यक्त गरेका छन्।
यद्यपि, राज्यले कुनै दिन आफ्नो पीडा बुझ्ने र समयले सत्य बोल्ने आशा भने उनले अझै नछाडेको बताएका छन्। संघर्षको मूल्य बुझिने र आफ्नै देशमा न्याय खोज्नेहरूको आवाज दबिनुपर्ने अवस्था अन्त्य हुने दिनको प्रतीक्षामा रहेको उनको भनाइ छ।
कट्टेलले चाँडै फेरि आफ्ना शुभेच्छुकसँग भेट हुने आशा व्यक्त गर्दै सबैप्रति माया र सम्मानसमेत प्रकट गरेका छन्।
धुर्मुसको स्टाटस
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij