Logo

Aug 20 2026 | २०८३, भाद्र ४गते

केन्यामा हेलिकप्टर दुर्घटना, पाँच अमेरिकीसहित सात जनाको मृत्यु

केन्यामा हेलिकप्टर दुर्घटना, पाँच अमेरिकीसहित सात जनाको मृत्यु

नैरोबी :  केन्याको उत्तरी क्षेत्रमा सफारीका क्रममा बुधबार बिहान हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सातै जनाको मृत्यु भएको छ। मृतकमध्ये पाँच जना अमेरिकी नागरिक रहेको स्थानीय प्रहरी र अमेरिकी विदेश विभागले जनाएको छ।

केन्या नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टरमा एक पाइलट र छ यात्रु थिए। हेलिकप्टर बिहान ९ः१३ बजे लोसाबा कन्जर्भेन्सीबाट साम्बुरु काउन्टीको इवासो न्यिरो क्षेत्रतर्फ जाँदै गर्दा माउन्ट ओलोलोक्वेको दुर्गम क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा परेको हेलिकप्टर स्थानीय कम्पनीको चार्टर उडानमा प्रयोग भएको थियो। खोज तथा उद्धारका लागि हेलिकप्टरहरू र केन्या रेडक्रसका आपत्कालीन टोली परिचालन गरिए पनि सबै यात्रुको मृत्यु भएको पुष्टि भएको छ।

मृतक अमेरिकी नागरिकहरूको आधिकारिक परिचय सार्वजनिक गरिएको छैन। अमेरिकी दूतावासले स्थानीय अधिकारीसँग समन्वय गर्दै मृतकका परिवारलाई आवश्यक कन्सुलर सहायता उपलब्ध गराइरहेको जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान सुरु भएको छ। अधिकारीहरूले हेलिकप्टरमा प्राविधिक समस्या आएको थियो वा अन्य कुनै कारणले दुर्घटना भएको हो भन्नेबारे जाँच गरिरहेका छन्। दुर्घटनाग्रस्त हेलिकप्टर युरोकप्टर ईसी–१३० बी४ मोडलको रहेको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij