Logo

Aug 19 2026 | २०८३, भाद्र ३गते

जनसरोकारका मुद्दामा सरकार संवेदनशील भएन : हर्कराज राई

जनसरोकारका मुद्दामा सरकार संवेदनशील भएन : हर्कराज राई

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार जनसरोकारका आधारभूत मुद्दामा संवेदनशील नभएको आरोप लगाएका छन्।बुधवार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राईले दैनिक उपभोग्य वस्तुको अभावदेखि प्रशासनिक ढिलासुस्तीसम्मका विषयमा सरकारको आलोचना गरे। संसद् बैठक ढिलो शुरु भएको सन्दर्भमा टिप्पणी गर्दै राईले सत्तापक्षको आन्तरिक बैठकका कारण सदनलाई पर्खाइएकोमा असन्तुष्टि व्यक्त गरे।

उनले जिम्मेवार निकायलाई जवाफदेही बनाउन आफूले सामाजिक सञ्जालमार्फत नैतिक दबाब दिँदै आएको स्पष्ट पारे। नियमानुसार दुई घण्टाभन्दा बढी ढिलो भए बैठक स्थगित हुने प्रावधान भए पनि यस्ता प्राविधिक ढिलासुस्तीले संसदीय गरिमामा असर पुग्ने उनको तर्क छ।

आमनागरिकले ग्यास, पेट्रोलियम पदार्थ र खानेपानी जस्ता आधारभूत आवश्यकताका लागि भोग्नुपरेको सास्तीप्रति चिन्ता व्यक्त गरे। मल खरिदका लागि किसानले जग्गाको लालपुर्जा देखाउनुपर्ने प्रावधान अनावश्यक र झन्झटिलो भएको बताए। वास्तविक किसानले अरूको खेत कमाएको हुनसक्ने र जग्गाधनी बाहिर भएको अवस्थामा मल नपाउनु न्यायोचित नभएको उनको तर्क छ।

यसैगरी गृहमन्त्रीले आफ्नो छानबिन प्रतिवेदन पत्रकारहरूलाई नै खोज्न आग्रह गरेको प्रसङ्गमा राईले त्यसलाई केटाकेटीपनको संज्ञा दिए।

उनले भने, ‘कालोबजारी भइरहेको छ भने त्यसलाई रोक्ने काम सरकारकै हो। विदेशबाट आयात गर्नुपर्ने वस्तुको हकमा स्टक सिस्टम प्रभावकारी बनाउनुपर्छ। म सबैभन्दा धेरै गाली खप्ने व्यक्ति हुँला तर कहिल्यै रिसाएको छैन। नेताले ताली र गाली दुवै स्वीकार गर्नुपर्छ।’

उनले सबै दलका समर्थकहरूलाई संयमित रहन र गालीगलौजमा नउत्रन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट