Logo

Aug 19 2026 | २०८३, भाद्र ३गते

जमलको टप दरबार रोधीमा तीन दिने लोकदोहोरी मेला, दुर्गेश थापादेखि प्रकाश सपुतसम्म दुई दर्जन बढी चर्चित कलाकार आउँदै

जमलको टप दरबार रोधीमा तीन दिने लोकदोहोरी मेला, दुर्गेश थापादेखि प्रकाश सपुतसम्म दुई दर्जन बढी चर्चित कलाकार आउँदै

काठमाडौं :  काठमाडौंको जमलस्थित टप दरबार रोधी क्लबले आफ्नो औपचारिक उद्घाटनको अवसरमा तीनदिने ‘लोकदोहोरी मेला’ आयोजना गर्ने भएको छ। भदौ ५ गतेदेखि ७ गतेसम्म आयोजना हुने मेलामा नेपाली लोक तथा दोहोरी क्षेत्रका दुई दर्जनभन्दा बढी चर्चित कलाकारको विशेष प्रस्तुति रहने भएको छ।

टप दरबार रोधी क्लबले सोमबार साँझ रोधी क्लबमै आयोजना गरेको पत्रकार भेटघाटमा मेलाको तयारी र कार्यक्रमबारे जानकारी दिएको हो। नेपाली मौलिक कला, संस्कृति, लोकसंगीत तथा रोधी परम्पराको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले लोकदोहोरी मेला आयोजना गर्न लागिएको क्लबले जनाएको छ।

तीन दिनसम्म चल्ने मेलामा राजु परियार, बद्री पंगेनी, प्रकाश सपुत, दुर्गेश थापा, विश्व दोङ, प्रेमराजा महत, पुरुषोत्तम न्यौपाने, कृष्ण कँडेल, अर्जुन सापकोटा, पशुपति शर्मा, चन्द्र शर्मा, प्रकाश दुतराज, राजु ढकाल, देवी घर्ती, ज्योति मगर, प्रीति आले, बसन्त थापा, श्याम राना, प्रियंका कार्की, एलिना चौहान, शान्ता रानी परियार, दीपिका बयम्बु, सुनिल क्षेत्री, करिश्मा शाही, दिनेश काफ्ले, कविता नेपाली, गंगु क्षेत्री, याङ्ग्री दोङ, गुराँस नानी र प्रतिमा अर्याल लगायतका कलाकारले प्रस्तुति दिनेछन्।

त्यस्तै, सिन्धुली कलाघर बाजा समूहको विशेष प्रस्तुति पनि मेलाको आकर्षण रहनेछ। टप दरबार रोधी क्लबमा नियमित रूपमा आबद्ध करिब ६० जना कलाकारको समेत विशेष प्रस्तुति रहने क्लबले जनाएको छ।

क्लबका सञ्चालक अशोक गिरीका अनुसार लोकदोहोरी मेलामार्फत स्थापित कलाकारसँगै नयाँ तथा प्रतिभाशाली कलाकारलाई समेत आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ। उनका अनुसार टप दरबार रोधीलाई केवल मनोरञ्जनको स्थलका रूपमा नभई नेपाली लोकसंगीत, कलाकार र दर्शकबीचको साझा गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

'मैले करिब २५ वर्षदेखि दोहोरी र रोधी क्षेत्रमै काम गर्दै आएको छु। यो अवधिमा धेरै कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिन सकेँ। अब टप दरबार रोधीमार्फत नेपाली लोकसंगीत र कलाकारितालाई अझ व्यवस्थित ढंगले अगाडि बढाउने हाम्रो प्रयास हो। स्थापित कलाकारसँगै नयाँ प्रतिभाले पनि यहाँ आफ्नो क्षमता देखाउने अवसर पाउनेछन्,' गिरीले भने।

करिब २५ वर्षअघि सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौं आएका गिरीले बाउन्सर हुँदै दोहोरी साँझको व्यवस्थापनबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेका थिए। सानो लगानीबाट सुरु भएको उनको व्यवसायिक यात्रा अहिले करिब ७ करोड रुपैयाँ लगानीको टप दरबार रोधी क्लब सञ्चालन गर्ने अवस्थामा पुगेको हो।

करिब ७ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको क्लबमा एकपटकमा करिब २०० जना अट्ने क्षमता रहेको छ भने प्रत्यक्ष रूपमा १०० भन्दा बढीलाई रोजगारी प्रदान गरिएको क्लबले जनाएको छ। नेपाली मौलिक परिकार, स्तरीय सेवा, आधुनिक प्रविधि, प्रत्यक्ष सांगीतिक प्रस्तुति तथा पारिवारिक वातावरणलाई क्लबका प्रमुख विशेषताका रूपमा विकास गरिएको छ।

रोधी तथा दोहोरी व्यवसायप्रति रहेको परम्परागत धारणालाई परिवर्तन गर्दै यस क्षेत्रलाई व्यवस्थित, मर्यादित र पारिवारिक बनाउने उद्देश्य रहेको गिरीले बताए।

'रोधी भनेको केवल मनोरञ्जन गर्ने ठाउँ मात्र होइन, हाम्रो लोकसंस्कृति र संगीतसँग जोडिएको एउटा परम्परा पनि हो। त्यसैले यसलाई व्यवस्थित, सभ्य र पारिवारिक वातावरणमा अगाडि बढाउनुपर्छ भन्ने हाम्रो सोच हो,' उनले भने।

गिरीले यसअघि सञ्चालन गरेका विभिन्न रोधी तथा दोहोरी साँझबाट दर्जनौं कलाकारले आफ्नो सांगीतिक यात्रा अघि बढाउने अवसर पाएका थिए। स्थापित कलाकारसँगै नयाँ प्रतिभालाई अवसर प्रदान गर्दै नेपाली लोकसंगीत तथा कलाकारिताको विकासमा योगदान पुर्‍याउने कार्यलाई टप दरबार रोधी क्लबले निरन्तरता दिने जनाएको छ।

क्लबका अनुसार लोकदोहोरी मेलाको अर्को उद्देश्य नेपाली मौलिक लोकसंस्कृति र रोधी परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउनु पनि हो। कलाकार, सञ्चारकर्मी, समाजसेवी, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई जोड्दै टप दरबार रोधीलाई नेपाली कला, संस्कृति र संगीतको साझा गन्तव्यका रूपमा विकास गर्ने क्लबको लक्ष्य छ।

टप दरबार रोधी क्लबको ग्रान्ड ओपनिङ तथा लोकदोहोरी मेला २०८३ भदौ ५ गतेदेखि ७ गतेसम्म प्रत्येक दिन साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा आयोजना हुनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट