काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका विषयमा मन्त्रालय संवेदनशील भएर काम गरिरहेको बताएका छन्।प्रतिनिधिसभाको आजको बैठकमा सांसद गोपाल शर्माले जाजरकोट र रुकुम पश्चिमका विपद् प्रभावित नागरिकको उद्धार तथा राहतबारे सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनमा आवश्यक समन्वय र सहकार्य भइरहेको जानकारी दिए।
उनले विद्यमान कानुनी व्यवस्थाअनुसार विपद्बाट प्रभावित एक परिवारका एक जनाले मात्र राहत तथा लाभ प्राप्त गर्न सक्ने व्यवस्था रहेको बताए। एकभन्दा बढी व्यक्तिलाई लाभ उपलब्ध गराउन विपद् आउनुअघि नै अंशबण्डा भई छुट्टिएर बसेको हुनुपर्ने प्रावधान रहेको उनले स्पष्ट पारे।
गृहमन्त्री गुरुङले उक्त व्यवस्था संशोधन गरी स्थानीय तहलाई विपद् व्यवस्थापनमा थप जिम्मेवार बनाउने उद्देश्यले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको र त्यसले काम अघि बढाइरहेको जानकारी दिए।
स्थानीय तहमा भवन निर्माण गर्दा भवन निर्माण संहिता अनिवार्य रूपमा पालना गर्नुपर्ने उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक समन्वय तथा सहजीकरण भइरहेको बताए।
विपद् व्यवस्थापन तीनै तहका सरकारको साझा जिम्मेवारी भएको स्पष्ट पार्दै गृहमन्त्री गुरुङले संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय र सहकार्य भइरहेको बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij