Logo

Aug 19 2026 | २०८३, भाद्र ३गते

आफ्नै सांसदको विरोधप्रति गृहमन्त्री गुरुङ असन्तुष्ट, भने– ‘घरको झगडा घरभित्रै राखौं’

आफ्नै सांसदको विरोधप्रति गृहमन्त्री गुरुङ असन्तुष्ट, भने– ‘घरको झगडा घरभित्रै राखौं’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सरकारका कामकारबाही र मन्त्रीहरूको कार्यशैलीप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाउन थालेपछि पार्टीभित्र समन्वयको विषय पेचिलो बनेको छ।

बुधबार पार्टी सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको बैठकमा गृहमन्त्री सुधन गुरुङले आफ्नै पार्टीका सांसदहरूले सदनमै सरकारको आलोचना गर्दा प्रतिपक्षी दललाई फाइदा पुगिरहेको गुनासो गरेका छन्।

बैठकमा गुरुङले सरकारमा सहभागी मन्त्री र सत्तापक्षका सांसदबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउँदै सरकारका कामकारबाहीप्रति कुनै गुनासो भए पार्टीभित्रै छलफल गर्न आग्रह गरेका थिए। उनले ‘घरको झगडा घरभित्रै राखौं, सदनमा विरोध नगरौं’ भन्दै सांसदहरूलाई संसद्मा एकताबद्ध भएर प्रस्तुत हुन आग्रह गरेको बैठकमा सहभागी एक नेताले बताए।

गृह मन्त्रालयसँग सम्बन्धित विषयमा सांसद तथा कार्यकर्ताका गुनासा भए आफूलाई प्रत्यक्ष रूपमा वा आफ्ना स्वकीय सचिव जेम्स कार्कीमार्फत जानकारी गराउन पनि गुरुङले आग्रह गरेका थिए। मन्त्रालयसँग सम्बन्धित समस्या र गुनासोको समन्वयमार्फत समाधान गर्न सकिने उनको भनाइ थियो।

सांसदलाई संसदीय मर्यादा कायम राख्न रविको निर्देशन

बैठकको सुरुवात गर्दै रास्वपा सभापति रवि लामिछानेले सांसदहरूलाई संसदीय मर्यादा कायम राख्दै जिम्मेवार रूपमा प्रस्तुत हुन निर्देशन दिएका थिए।

पछिल्लो समय रास्वपाका केही सांसदले सरकारका निर्णय तथा मन्त्रीहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन्। कतिपय विषयमा सदनमै सरकारको आलोचना हुन थालेपछि पार्टी र सरकारबीचको समन्वयबारे प्रश्न उठ्न थालेको हो।

लामिछानेले संसद्मा पार्टीको प्रस्तुति, सांसदहरूको उपस्थिति र सरकारका कामकारबाहीबारे एकरूपता कायम गर्नुपर्नेमा जोड दिएका थिए। पार्टीभित्रका असन्तुष्टि र मतभेदलाई सदनमा सार्वजनिक गर्नुभन्दा आन्तरिक संयन्त्रमार्फत समाधान गर्नुपर्ने उनको धारणा थियो।

संसदीय दलका नेता बालेन बैठकमा अनुपस्थित

रास्वपाको संसदीय दलको बैठकमा प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता वालेन्द्र शाह भने सहभागी भएनन्।

पार्टी नेताहरूका अनुसार शाह संसदीय दलको बैठकमा नियमित रूपमा सहभागी भइरहेका छैनन्। सरकारको नेतृत्व गरिरहेका बेला पार्टीभित्र सरकारका कामकारबाहीप्रति आलोचना बढेपछि सभापति लामिछाने स्वयं संसदीय दलका गतिविधिमा सक्रिय हुन थालेका छन्।

बुधबारको बैठकलाई पनि पार्टीभित्र बढ्दै गएको असन्तुष्टि व्यवस्थापन गर्ने तथा संसद्मा रास्वपाका सांसदलाई थप व्यवस्थित रूपमा प्रस्तुत गर्ने प्रयासका रूपमा हेरिएको छ।

सरकार र सांसदबीच समन्वयमा जोड

बैठकमा सरकारमा सहभागी मन्त्री र पार्टीका सांसदबीच प्रभावकारी समन्वय गर्ने विषयमा पनि छलफल भएको थियो। सरकारका निर्णय तथा मन्त्रालयका कामबारे सांसदहरूलाई पर्याप्त जानकारी गराउने र उनीहरूका गुनासा पार्टीभित्रै छलफल गरेर समाधान गर्ने वातावरण बनाउनुपर्नेमा नेताहरूले जोड दिएका थिए।

सरकारको नेतृत्व गरिरहेको रास्वपाभित्रै सांसदबाट सार्वजनिक रूपमा सरकारको आलोचना बढ्दै गए त्यसले सरकारको प्रभावकारिता र पार्टीको राजनीतिक छविमा असर पर्न सक्ने नेताहरूको चिन्ता छ। त्यसैले आगामी दिनमा संसद्मा पार्टीको एकीकृत प्रस्तुति, सांसदहरूको जिम्मेवारी तथा सरकार–संसद् समन्वयलाई प्राथमिकतामा राख्ने तयारी रास्वपाले गरेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij