काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ज्वाला संग्रौलाको अभिव्यक्तिपछि प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच भनाभन भएको छ। बैठकमा बोल्दै सांसद संग्रौलाले विगतमा लामो समय शासन गरेका दलहरूकै कारण गत भदौमा जेनजी आन्दोलन भएको टिप्पणी गरेपछि सत्तापक्ष र प्रतिपक्षका सांसदबीच भनाभन भएको हो।
आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको परिवार अझै शोकमा रहेका बेला विपक्षी सांसदहरूले सरकारमाथि प्रश्न उठाइरहेको भन्दै उनले आपत्ति जनाइन्। उनले विपक्षी सांसदप्रति लक्षित गर्दै- 'तपाईंहरूले सक्नुभएन, अब हामी चलाउँछौँ’ भन्ने अभिव्यक्तिको आलोचना गरिन्।
जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारले अझै शोक मनाइरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा शासन सञ्चालनको दाबी गर्नुको नैतिक आधारबारे प्रश्न उठाइन् । संग्रौलाको अभिव्यक्तिपछि विपक्षी बेन्चमा रहेका सांसदहरू उठेर विरोध जनाएका थिए। त्यसक्रममा नेकपा एमालेकी सांसद साजिदा सिद्दीकीले प्रतिवाद गर्दै वर्तमान सरकारले नै मुलुकमा ‘गुण्डाराज’ चलाएको आरोप लगाइन्।
प्रतिपक्षले सरकारलाई प्रश्न गर्दा सत्तापक्षबाट ‘गुण्डाराज’को आरोप लगाइनु आपत्तिजनक भएको सिद्दीकीको भनाइ थियो। देश र जनताको पक्षमा आवाज उठाउँदा आफूहरू पछि नहट्ने बताउँदै उनले जेनजी आन्दोलनको कुरा गर्नेहरूले सिरहामा सरकारले चलाएको गोलीका विषयमा पनि जवाफ दिनुपर्ने माग गरिन्।
सिद्दीकीको भनाइपछि संग्रौलाले पुनः प्रतिवाद गर्दै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिन्। दुवै पक्षका सांसदबीच आरोप–प्रत्यारोप र भनाभन बढेपछि प्रतिनिधिसभा बैठकमा केहीबेर चर्को होहल्ला भएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij