घुर्केश : तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले सञ्चारकर्मी तथा साहित्यकार गौरी तमूलाई सम्मान गरेको छ ।
चितवनको सञ्चार माध्यममा पहिलोपटक तमू भाषाको समाचार प्रशारण गरेकी गौरीलाई चौथो गुरुङ भाषा प्रशारण दिवसको अवसरमा सम्मान गरिएको हो ।
इच्छाकामना गाउँपालिका २ स्थित घुर्कोश सामुदायिक होमस्टेमा आयोजित एक समारोहबीच प्रमुख अतिथि एटजोन तथा फोनिजका पूर्वअध्यक्ष डण्ड गुरुङले सम्मानपत्र प्रदान गरे ।
गौरीले २०५९ फागुन १ गते चितवनस्थित कालिका एफएमबाट तमू भाषामा कार्यक्रम सुरुवात गरेकी थिइन् । गौरी तमू साहित्यिकि प्रतिष्ठानकी संस्थापक अध्यक्षसमेत हुन् ।
एटजोनले तमू मातृभाषामा समाचार तथा कार्यक्रम प्रकाशन, प्रशारण गर्ने अग्रजहरुलाई विगत चार वर्षदेखि सम्मान गर्दै आएको छ ।
२०५१ भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक गुरुङ, तामाङ, मगर लगायत मातृभाषामा समाचार प्रसारण भएको थियो । सोही दिनको अवसर पारेर एटजोनले हरेक वर्ष भदौ १ गते प्रशारण दिवस मनाउन थालेको हो ।
प्रशारण दिवसको अवसरमा यसअघि गोविन्द गुरुङ, गणेशमान गुरुङ र अनिता गुरुङ सम्मानित भइसकेका छन् ।
कार्यक्रम एटजोनका अध्यक्ष लाला गुरुङको अध्यक्षतामा भएको थियो भने महासचिव चित्र सोल्टी गुरुङले सञ्चालन गरेका थिए ।