Logo

Aug 18 2026 | २०८३, भाद्र २गते

तमू सञ्चारकर्मी संघ चितवनको अध्यक्षमा हीरालाल

तमू सञ्चारकर्मी संघ चितवनको अध्यक्षमा हीरालाल

चितवन :  तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, चितवनको दोस्रो अधिवेशनले हिरालाल गुरुङको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।
इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश सामुदायिक होमस्टेमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा गीता गुरुङ, सचिवमा करिष्मा गुरुङ, सहसचिवमा घना गुरुङ र कोषाध्यक्षमा सूचना गुरुङ निर्वाचित भएका छन्। सदस्यमा सुष्मा गुरुङ र शान्ति गुरुङ चयन भएका छन्।

तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका केन्द्रीय अध्यक्ष लाला गुरुङको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले तमू समुदायको भाषा, संस्कार, संस्कृति, पहिचान तथा समसामयिक विषयलाई सञ्चारमाध्यममार्फत उजागर गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताए।

तमू समुदायको मौलिक संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले इच्छाकामना गाउँपालिकाको दुर्गम गुरुङ बस्ती घुर्केशमा अधिवेशन आयोजना गरिएकोमा उनले आयोजकप्रति आभार व्यक्त गरे। समुदायका आवाजलाई सञ्चारमाध्यममा प्राथमिकताका साथ उठाउँदै सामाजिक रूपान्तरणमा सञ्चारकर्मीले थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

अधिवेशनले नयाँ नेतृत्व चयनसँगै तमू समुदायका मुद्दालाई सञ्चारमाध्यममार्फत प्रभावकारी रूपमा उठान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। नवनिर्वाचित कार्यसमितिले तमू समुदायको भाषा, कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनसँगै पत्रकारहरूको पेशागत हकहितका लागि काम गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका पूर्वकेन्द्रीय अध्यक्ष डन्ड गुरुङ, महासचिव चित्र सोल्टी न्हान्सी गुरुङ, तमू प्हे ल्हु संघ चितवनका अध्यक्ष विक्रम गुरुङ, मगर पत्रकार संघ चितवनका अध्यक्ष आशिक राना मगरलगायत सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो।

घुर्केशमा आयोजित अधिवेशनले गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र ग्रामीण जीवनशैलीलाई सञ्चारमाध्यममार्फत थप उजागर गर्नसमेत योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट