Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सेती अस्पतालको सेवा सुधारका लागि १५ दिनमा अनुगमन गर्ने मुख्यमन्त्री भट्टको प्रतिबद्धता

सेती अस्पतालको सेवा सुधारका लागि १५ दिनमा अनुगमन गर्ने मुख्यमन्त्री भट्टको प्रतिबद्धता

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा सुधारका लागि हरेक १५ दिनमा अस्पतालको अनुगमन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

आइतबार सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापासहित सेती प्रादेशिक अस्पताल पुग्नुभएका मुख्यमन्त्री भट्टले अस्पतालको अनुगमन गर्दै नियमित रूपमा अस्पतालको अवस्थाबारे जानकारी लिने बताउनुभएको हो ।

मुख्यमन्त्री भट्टले अस्पतालको आकस्मिक कक्षसँगै जोडिएको शौचालयलगायत विभिन्न स्थानको अवलोकन गर्नुभएको थियो । उहाँले अस्पतालको सरसफाइ तथा सेवा प्रवाहलाई चुस्तदुरुस्त राख्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो ।

अनुगमनका क्रममा मुख्यमन्त्री भट्ट र सामाजिक विकासमन्त्री थापाले उपचाररत बिरामीसँग भेट गरी उनीहरूका समस्या तथा गुनासा समेत सुन्नुभएको थियो । बिरामीहरूले उपचार सेवा, आवश्यक जनशक्ति तथा अस्पताल व्यवस्थापनसँग सम्बन्धित समस्याबारे मुख्यमन्त्रीसमक्ष गुनासो गरेका थिए ।

सुदूरपश्चिम प्रदेशमै सबैभन्दा बढी बिरामीको चाप रहने सेती प्रादेशिक अस्पतालमा जनशक्ति तथा भौतिक पूर्वाधारको अभावका कारण सेवा प्रवाह प्रभावित हुँदै आएको छ । अस्पतालमा ५० शय्याको स्वीकृत दरबन्दी रहे पनि बिरामीको चापअनुसार सेवा दिन अस्पताल व्यवस्थापन समिति तथा विभिन्न कार्यक्रमअन्तर्गत चिकित्सक र स्वास्थ्यकर्मी नियुक्त गरी सेवा सञ्चालन हुँदै आएको छ ।

बिरामीको चापअनुसार आवश्यक जनशक्ति र पूर्वाधार पर्याप्त नहुँदा उपचारका लागि आउने बिरामीले प्रभावकारी सेवा पाउन समस्या भोग्दै आएका छन् । मुख्यमन्त्री भट्टले नियमित अनुगमन गर्ने घोषणा गरेसँगै अस्पतालको सेवा सुधार तथा व्यवस्थापनमा थप पहल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट