Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

आफ्नै आम्दानीबाट देश बनाउने लक्ष्यसहित बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

आफ्नै आम्दानीबाट देश बनाउने लक्ष्यसहित बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

तनहुँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नयाँ बजेट मुलुकलाई आफ्नै आम्दानीबाट विकास गर्ने दिशामा केन्द्रित रहेको बताउनुभएको छ। बिहीबार तनहुँमा जिल्ला समन्वय समितिको वार्षिक समीक्षा कार्यक्रम उद्घाटन गर्दै अर्थमन्त्री वाग्लेले राज्यको कमजोर आन्तरिक आम्दानीका कारण ऋण लिएर नियमित तथा अत्यावश्यक खर्च धान्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले करको दायरा विस्तार गर्ने नीति लिएको बताउनुभयो।

उहाँका अनुसार सानो–सानो योगदानमार्फत राज्यको आम्दानी बढाउँदै आफ्नै स्रोतबाट विकास निर्माण अघि बढाउने सरकारको लक्ष्य छ। “विगतदेखि नै हामीले ऋण लिएर ऋण र त्यसको ब्याज तिरिरहेका छौँ। नियमित र अत्यावश्यक राज्यको दायित्व साढे १३ सय अर्ब छ भने सरकारको आम्दानी करिब १२ सय ५० अर्ब हाराहारी मात्रै छ,” अर्थमन्त्री वाग्लेले भन्नुभयो।

करको दायरा विस्तारसँगै कर तिर्न प्रोत्साहित गर्ने कार्यक्रम ल्याइएको उहाँको भनाइ छ। विकासका लागि ऋण लिन नहुने, कर पनि तिर्न नपर्ने तर विकास भने जसरी पनि हुनुपर्ने मानसिकताबाट सबै माथि उठ्नुपर्ने उहाँले बताउनुभयो। जनताको विकासप्रतिको अपेक्षा र मुलुकको आर्थिक सामर्थ्यबीच ठूलो अन्तर रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले अहिले दातृ निकायबाट प्राप्त हुने ऋणसमेत महँगो बन्दै गएकाले नेपाल आफैँ आर्थिक रूपमा सक्षम बन्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।

करको दायरा फराकिलो बनाउँदा नयाँ क्षेत्रमा कर थपिएको भन्दै उठ्ने गुनासोलाई सरकारले सम्बोधन गर्ने उहाँले बताउनुभयो। कर विस्तारको क्रममा सर्वसाधारणलाई अन्तिम कर दायित्वबाट जोगाउने विषयमा सरकार सचेत रहेको उहाँको भनाइ थियो।

सरकारले २१ खर्ब २४ अर्ब रुपैयाँको बजेटमार्फत निजी क्षेत्रलाई उत्साहित बनाउँदै करिब ६६ खर्ब रुपैयाँको अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिएको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो। उहाँले आगामी दिनमा प्रवासी नेपालीलाई समेत नेपालमा लगानी गर्न आकर्षित गर्ने वातावरण निर्माणका लागि सरकारले आवश्यक कदम चाल्ने बताउनुभयो। अर्थमन्त्री वाग्ले आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणका क्रममा जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुनुभएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट