मकवानपुर : बागमती प्रदेश सरकारले ८ मन्त्रालयको सङ्गठन संरचना सङ्गठन संरचना र दरबन्दी तेरिज (ओएण्डएम) स्वीकृत गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गत साउन १ गतेबाट कार्यान्वयन भएको प्रदेशको ८ मन्त्रालय कायम गर्ने निर्णय अनुसार ओएण्डएम स्वीकृत गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउन विभिन्न प्रशासनिक चुस्तता कायम गर्न ८ मन्त्रालय र सो अन्तर्गतका कार्यालयहरूको ओएण्डएम टुंग्याउने निर्णय गरेको हो। बैठकले नयाँ ओएण्डएम अनुसार प्रदेशमा कर्मचारीको संख्या साविकको भन्दा केही घट्ने गरी व्यवस्थापन गरिएको मन्त्री तामाङले बताए ।
केही प्राविधिक विषयहरू मिलाएर ओएण्डएम अनुसार कर्मचारीहरू व्यवस्थापन गरी जिम्मेवारी तोक्ने निर्णय गरेको उनले बताए । सरकारले विभिन्न मन्त्रालयका सचिवहरूको जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
बैठकले आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय अन्तर्गतको अस्थायी कार्यालय सञ्चालनका लागि स्वीकृति प्रदान गरेको प्रवक्ता तामाङले बताए ।
मन्त्रिपरिषद् बैठकले स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०७९ संशोधन गर्न बनेको विधेयकको मस्यौदा प्रदेशसभामा पेस गर्ने निर्णय गरेको प्रवक्ता तामाङको भनाइ छ।
ललितपुरमा रहेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको भवन, जग्गा र सम्पूर्ण सम्पत्ति प्रदेश सुशासन केन्द्रलाई उपलब्ध गराउनका लागि नेपाल सरकारसँग अनुरोध गर्ने बैठकले निर्णय गरेको उनले बताए।
आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा बहुवर्षीय योजनाको स्रोत सहमति सम्बन्धी मापदण्ड २०८० स्वीकृत गरिएको छ भने विभिन्न मन्त्रालयका सालबसाली कार्यविधिहरू पनि पारित गरेको छ।
प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यहरूको पारिश्रमिक सम्बन्धी निर्णय गरेको छ भने प्रदेश सचिव डा. केदार बराललाई अस्ट्रेलियामा हुने एक कार्यक्रममा सहभागी हुन मनोनयन गर्ने निर्णय गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij