पोखरा : भारतीय सेनाको अग्निपथमा भर्ती सुचारुको माग गर्दै पोखरामा भूपू गोर्खा सैनिकहरूले प्रदर्शन गरेका छन् । भारतीय भूपू सैनिक गोर्खा ब्रिगेड नेपाल पोखराको आयोजनामा बुधवार प्रदर्शन सहित विरोध भएको हो । उनीहरूले जिल्ला प्रशासन कार्यालय मार्फत सङ्घ सरकारलाई दुई बुँदे ज्ञापन पत्र बुझाएका छन् ।
भारतीय सेनामा नेपाली युवाहरूको भर्ती प्रक्रिया पुनः सुचारु गर्न र सैनिक शब्द उल्लेख भएका भूपू सैनिकका सङ्घ संस्थाहरूको नवीकरण सहज बनाउन माग गरिएको छ । सन् २०२२ जुन १४ देखि भारत सरकारले ल्याएको अग्निपथ योजनापश्चात् रोकिएको गोर्खा भर्ती प्रक्रियालाई तत्काल सुचारु गर्न माग गरिएको ब्रिगेडका अध्यक्ष कर्नल कृष्णबहादुर खत्रीले जानकारी दिए ।
‘नेपाली युवाहरूलाई भारतमा भर्ती गर्ने प्रक्रिया सुगौली सन्धिपछि सुरु भई २०७ वर्षदेखि चल्दै आएको थियो । तर, भारतले अग्निपथ योजना सुरु गरेपछि नेपाल सरकारले विभिन्न कारण देखाउँदै नेपाली युवाहरूलाई भारतीय सेनामा भर्ती हुनबाट वञ्चित गरेको छ,’ उनले भने, ‘जसले गर्दा रोजगारी गुम्नुका साथै पुर्खाले आर्जेको बहादुरीको इतिहास समेत मेटिने अवस्था आइपुगेको छ ।’
अग्निपथ योजना अन्तर्गत युवाहरूले धेरै अवसर प्राप्त गर्ने भन्दै उनीहरूले खाडी मुलुकको कठिन श्रमभन्दा यो अवसर उपयुक्त रहेको बताए । ‘चार वर्षको अवधिमा युवाले विभिन्न सुविधासहित करिब ४५ देखि ५० लाख रुपैयाँसम्म कमाउँछन् । यो पेसा अरबको ५० डिग्री सेल्सियस तापक्रम भएको खाडीमा गएर न्यूनतम तलबमा काम गर्नुभन्दा सयौँ गुणा राम्रो छ,’ सरकारलाई पठाइएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
गृह मन्त्रालयको परिपत्रका कारण सैनिक शब्द जोडिएका भूपू सैनिकका सङ्घ संस्थाहरूको नवीकरण रोकिएको उनीहरूले आरोप लगाए । गृह मन्त्रालयले २०८१ वैशाख ४ गतेको निर्देशनमार्फत सैनिक शब्दले नेपाली सेनालाई मात्र बुझाउने भन्दै यस्ता संस्था नवीकरण नगर्न निर्देशन दिएको थियो ।
यही निर्णय पछि देशभरका भूपू सैनिकहरूलाई मर्का परेको खत्रीले बताए । ‘एउटा सैनिकले सैनिक जीवनभर सेनामा सेवा गरेर आफूलाई भूपू सैनिक लेख्न पाउँदैन वा भूपू सैनिकको नाममा सङ्घ–संस्था खोल्न सक्दैन भने फेरि भूपू सैनिकको औचित्य के भयो ?,’ उनले प्रश्न गरे, ‘२११ वर्षदेखि चिनिँदै आएको भूपू सैनिक शब्दमाथि किन यस्तो आपत्ति ?’ आफूहरूको माग सम्बोधन नभए सङ्घर्षका थप कार्यक्रम सार्वजनिक गरिने उनीहरूको चेतावनी छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij