काठमाडौँ : नेकपा (एमाले) रूपान्तरण र पुनर्संरचनाका लागि ‘पुनर्जागरण अभियान–२०८२’ ले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन, पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गर्न र निर्वाचनको निर्मम समीक्षा गर्न माग गर्दै पार्टी नेतृत्वलाई दबाब दिएको छ ।
अभियानका संयोजक गजेन्द्र थपलियालगायतका नेताहरूले बुधबार पार्टी केन्द्रीय कार्यालयमार्फत अध्यक्ष केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । गत फागुन २१ को जनादेशपछि बदलिएको राजनीतिक परिस्थिति र पार्टीको साङ्गठनिक अवस्थाबारे अभियानले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै बुझाएको पत्रमा पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको र कार्यदलका प्रतिवेदनहरू कार्यान्वयन नभएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ ।
बैठक बस्न नसक्नु चिन्ताको विषय
अभियानले निर्वाचन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि पार्टीको केन्द्रीय कमिटी बैठक बस्न नसक्नुलाई ‘गम्भीर र चिन्ताजनक’ भनेको छ । निर्वाचनमा व्यहोरेको पराजयको समीक्षा गरी कार्यकर्ता र जनतामा नयाँ आशा जगाउनुपर्ने समयमा पार्टी निर्णय प्रक्रियामा अलमल देखिएको पत्रमा उल्लेख छ । ‘पार्टी एकताबद्ध, सुदृढ र प्रभावकारी ढंगले अगाडि बढ्ने कुरामा गम्भीर आशंका उत्पन्न भएको छ,’ पत्रमा भनिएको छ ।
कार्यदलको प्रतिवेदन थन्किएको आरोप
पार्टी सुदृढीकरण र पुनर्गठनका लागि २०८३ जेठ १५ गतेको सचिवालय बैठकले १६ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले १३ वटा क्लस्टरमा सुझाव सङ्कलन गरी असार २५ गते नै प्रतिवेदन बुझाए पनि त्यसमाथि छलफल गर्न नेतृत्वले चासो नदिएको अभियानको ठहर छ । कार्यदलको प्रतिवेदन प्राप्त भएपछि असार मसान्तभित्रै केन्द्रीय कमिटी बैठक बस्ने भनिए पनि हालसम्म बैठक नडाकिएकोमा अभियानले आपत्ति जनाएको छ ।
सरकारको कार्यशैलीप्रति प्रश्न
अभियानले वर्तमान सरकारको कार्यशैली र कतिपय नीतिहरूका कारण जनतामा निराशा बढ्दै गएको दाबी गरेको छ । ‘सरकारका कतिपय अन्योलग्रस्त नीति र शासन सञ्चालनमा देखिएका अपरिपक्वताले राष्ट्रिय हित र सुरक्षाको सवालमा चिन्ता बढाएको छ,’ पत्रमा भनिएको छ । साथै, साम्प्रदायिकता र पृथकतावादी प्रवृत्तिहरूले टाउको उठाउन थालेको जोखिमसमेत औँल्याइएको छ ।
अभियानका प्रमुख माग
पुनर्जागरण अभियानले पार्टीलाई गति दिन तत्काल निम्न कदम चाल्न माग गरेको छ :
१. निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनमाथि केन्द्रीय कमिटीमा छलफल गरी सार्वजनिक गरिनुपर्ने ।
२. केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीको बैठक अविलम्ब आयोजना गरिनुपर्ने ।
३. निर्वाचनमा भएको पराजयको वस्तुनिष्ठ र निर्मम समीक्षा गरिनुपर्ने ।
४. पार्टी शुद्धीकरण, सुदृढीकरण र पुनर्संरचनाको स्पष्ट खाका निर्माण गर्नुपर्ने ।
५. नेता–कार्यकर्ताको मनोबल उठाउन जनतासँगको सम्बन्ध पुनः स्थापित गर्नुपर्ने ।
‘व्यक्तिभन्दा पार्टी, पदभन्दा नीति’
अभियानले आजको आवश्यकता व्यक्तिभन्दा पार्टी, पदभन्दा नीति, आग्रहभन्दा आत्मसमीक्षा र जडताभन्दा रूपान्तरण भएको स्पष्ट पारेको छ । ‘कमजोरी स्वीकारौँ, पार्टीलाई पुनर्गठित गरौँ र जनताको विश्वास पुनः आर्जित गरौँ’ भन्ने सन्देशसहित अभियानले पार्टीलाई नयाँ ऊर्जा र कार्यशैलीका साथ अगाडि बढाउन नेतृत्वलाई दबाब दिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij