Logo

Aug 12 2026 | २०८३, श्रावण २७गते

भरतपुरमा असोज १० गते ‘विशिष्ट व्यक्तित्व सम्मान’सहित भव्य सांस्कृतिक कार्यक्रम हुने

भरतपुरमा असोज १० गते ‘विशिष्ट व्यक्तित्व सम्मान’सहित भव्य सांस्कृतिक कार्यक्रम हुने

भरतपुर :  ‘शिक्षा, सीप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान’ भन्ने मूल नाराका साथ चितवनको भरतपुरमा ‘विशिष्ट व्यक्तित्व सम्मान तथा भव्य सांस्कृतिक कार्यक्रम’ आयोजना हुने भएको छ।

सरिता इभेन्ट्सको आयोजनामा आगामी २०८३ असोज १० गते शनिबार भरतपुर महानगरपालिका–२, क्षेत्रपुरस्थित दियालो फुडल्याण्डमा कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रम मध्यान्ह १२ बजेदेखि सुरु हुनेछ।

नारी उद्यमशीलता, शिक्षा, सीप तथा श्रमको सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तित्वलाई सम्मान गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ। साथै मनोरञ्जनात्मक कार्यक्रम, आत्मीय भेटघाट तथा शुभकामना आदानप्रदानले कार्यक्रमलाई थप विशेष बनाउने आयोजकको भनाइ छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित लोकगायक बद्री पंगेनी, चर्चित मोडल नारायणी खत्री र दिनेश कँडेलको विशेष प्रस्तुति रहनेछ। कलाकारहरूको प्रस्तुति तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले सहभागीलाई भरपूर मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ।

सरिता इभेन्ट्सकी अध्यक्ष सरिता आचार्यले विगतका वर्षमा प्राप्त हुँदै आएको साथ, सहयोग र उत्साहलाई निरन्तरता दिँदै यस वर्षको कार्यक्रमलाई अझ व्यवस्थित, भव्य र स्मरणीय बनाउने तयारी भइरहेको बताइन्।

उनले कार्यक्रमलाई सफल बनाउन चितवनवासी, विभिन्न संघसंस्था, व्यवसायी, कलाकार, सञ्चारकर्मी तथा शुभेच्छुक सबैको साथ र उपस्थितिको अपेक्षा गरिएको बताइन्।

शिक्षा, सीप र श्रमको सम्मानसँगै नारी उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्य बोकेको कार्यक्रमले सामाजिक तथा सांस्कृतिक क्षेत्रलाई समेत जोड्ने आयोजकको विश्वास छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij