Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

बाबुराम भट्टराई भन्छन् - पुरानै नेता र विचारमा रंगरोगन गरेर नयाँ पार्टी बन्दैन

बाबुराम भट्टराई भन्छन् - पुरानै नेता र विचारमा रंगरोगन गरेर नयाँ पार्टी बन्दैन

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना नेता, विचार र राजनीतिक प्रणालीका विभिन्न पक्षलाई जोडजाड तथा रंगरोगन गरेर मात्रै नयाँ युगको आवश्यकता पूरा गर्ने वैकल्पिक पार्टी निर्माण हुन नसक्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले मुलुकमा फेरि एकपटक राजनीतिक दलहरूको विघटन–पुनर्गठन तथा विनिर्माण–निर्माणको नयाँ चक्र सुरु हुन थालेको अनुभूति भइरहेको बताएका हुन् ।

उनका अनुसार राजनीतिक दलमा आउने परिवर्तन स्वाभाविक र अनिवार्य प्रक्रिया हो। प्रकृति, समाज र विचार अर्थात् पार्टीको विकासको आधारभूत नियम नै निरन्तर परिवर्तन र पुनर्निर्माण भएकाले अहिलेको राजनीतिक पुनर्संरचनालाई पनि त्यही प्रक्रियाका रूपमा बुझ्नुपर्ने उनको भनाइ छ।

तर पुराना नेता, विचार र प्रणालीका टुक्राहरूलाई घोलमेल गरेर नयाँ रंगरोगन गर्दैमा नयाँ पार्टी निर्माण नहुने भट्टराईले स्पष्ट पारेका छन्। ‘साँच्चै अग्रगामी नयाँ र वैकल्पिक पार्टी बनाउने हो भने देश र कालसापेक्ष नयाँ अग्रगामी विचार, नीति, कार्यक्रम र नेतृत्वको पूर्ण प्याकेजसहितको नयाँ संगठन चाहिन्छ,’ उनले भनेका छन्।

भट्टराईले विचार र सिद्धान्तविनाको पार्टी दिशाबोध गर्ने यन्त्र नभएको गाडी वा जहाजजस्तै हुने टिप्पणीसमेत गरेका छन्। उनका अनुसार राजनीतिक दलले स्पष्ट विचार र सिद्धान्तमार्फत समाजलाई निश्चित दिशा दिन सक्नुपर्छ। हालको वित्तीय भूमण्डलीकृत विश्व तथा आन्तरिक जडता र बाह्य परनिर्भरताको दुष्चक्रबाट नेपाली समाज गुज्रिरहेको उल्लेख गर्दै उनले दलहरू पुरानै वैचारिक जडताबाट माथि उठ्न नसक्नु गम्भीर समस्या भएको बताएका छन्। बहुवर्गीय तथा बहुजातीय नेपाली समाजको बदलिँदो आवश्यकता सम्बोधन गर्न राजनीतिक दलहरूले समयअनुकूल विचारको विकास गर्न नसक्नु नै अहिलेको प्रमुख विडम्बना रहेको भट्टराईको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट