काठमाडौं : सरसफाई अभियन्ता अपिल घिमिरेले प्रकृतिको संरक्षणलाई मानव सभ्यताको अस्तित्वसँग जोड्दै ‘प्रकृतिवादी घोषणापत्र–२०८३’ सार्वजनिक गरेका छन्। घोषणापत्रमार्फत उनले प्रकृतिलाई मानवको निजी सम्पत्ति नभई सम्पूर्ण जीवजगतको साझा घरका रूपमा स्वीकार गर्नुपर्ने धारणा अघि सारेका छन्।
घिमिरेले सार्वजनिक गरेको घोषणापत्रमा मानव, नदी, वन, वन्यजन्तु, माटो, हावा र जल एकअर्कासँग गहिरो रूपमा अन्तरसम्बन्धित रहेको उल्लेख गरिएको छ। यी सबै जीवनका आधारस्तम्भ भएकाले कुनै एक तत्त्वको विनाशले अन्ततः सम्पूर्ण जीवन प्रणालीमै गम्भीर असर पार्ने चेतावनी घोषणापत्रमा दिइएको छ।
घोषणापत्रमा मानवलाई प्रकृतिको मालिकका रूपमा होइन, प्रकृतिको एक सदस्यका रूपमा बुझ्नुपर्ने विचार प्रस्तुत गरिएको छ। मानव अधिकारको चर्चा जति आवश्यक छ, त्यति नै नदी, वन, वन्यजन्तु तथा पृथ्वीको अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिइएको छ। प्रकृतिको विनाश गरेर प्राप्त हुने विकास दिगो हुन नसक्ने भएकाले प्रकृतिसँग सहअस्तित्व कायम गर्ने विकास मोडल अपनाउनुपर्ने धारणा पनि घोषणापत्रमा समेटिएको छ।
घिमिरेले प्राकृतिक सम्पदाको संरक्षणलाई घोषणापत्रको प्रमुख प्राथमिकतामा राखेका छन्। नदी, वन, ताल, सिमसार तथा जैविक विविधताको संरक्षण, वन्यजन्तु तथा सबै जीवित प्राणीको बाँच्न पाउने अधिकारको सम्मान, प्लास्टिक तथा अन्य प्रकारका प्रदूषणविरुद्ध जनचेतनामूलक अभियान सञ्चालन, प्राकृतिक स्रोतको अनियन्त्रित दोहनको विरोध तथा वातावरणीय न्यायको प्रवर्द्धनलाई विशेष महत्व दिइएको छ।
त्यसैगरी भावी पुस्ताप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। घोषणापत्रमा नेपाली समाजका सांस्कृतिक तथा प्राकृतिक पहिचानका रूपमा रहेका वर, पिपल, समी, चौतारा, पँधेरो, कुवा लगायतका सम्पदाको संरक्षण र संवर्द्धनमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरिएको छ।
घिमिरेले प्रकृतिवादलाई कुनै राजनीतिक विचारधारा वा सीमित दार्शनिक अवधारणाका रूपमा नभई जीवन जिउने नैतिक आधारका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार नदी, वन, वन्यजन्तु र पृथ्वी सुरक्षित रहन सके मात्र मानव सभ्यता सुरक्षित र समृद्ध बन्न सक्छ। प्रकृतिको विनाशले अन्ततः मानव अस्तित्व नै संकटमा पर्ने भएकाले विकास र वातावरणबीच सन्तुलन कायम गर्नु आजको प्रमुख आवश्यकता भएको उनको भनाइ छ।
उनले सम्पूर्ण नागरिकलाई प्रकृतिको उपभोक्ता मात्र नभई संरक्षणकर्ता बन्न आह्वान गरेका छन्। प्रकृतिप्रतिको जिम्मेवारी निर्वाह गर्नु नै भावी पुस्ताप्रतिको दायित्व भएको उल्लेख गर्दै उनले प्रकृतिको रक्षा गर्नु भनेको मानव सभ्यताको भविष्यको रक्षा गर्नु नै भएको बताएका छन्।
घोषणापत्रको अन्त्यमा घिमिरेले आफ्नो मूल मन्त्र प्रस्तुत गरेका छन्– “मानव प्रकृतिभन्दा ठूलो होइन; मानव प्रकृतिको एक हिस्सा मात्र हो। प्रकृति बचे भविष्य बच्छ।” यही सन्देशलाई व्यवहारमा उतार्दै प्रकृति संरक्षणको अभियानलाई सामाजिक आन्दोलनका रूपमा अघि बढाउन उनले सबैमा अपिल गरेका छन्
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij