भरतपुर : पोल्ट्री व्यवसायलाई वातावरणमैत्री, व्यवस्थित तथा कानुनी मापदण्डअनुसार सञ्चालन गर्ने उद्देश्यले नेपाल ह्याचरी उद्योग संघ बाग्मती प्रदेश समन्वय समितिको आयोजनामा शुक्रबार चितवनमा ‘पोल्ट्री व्यवसायमा वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ।
बाग्मती प्रदेश समन्वय समितिका संयोजक ज्ञानबहादुर बिसुरालको सभापतित्व तथा नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वातावरण विज्ञ युवराज ढकालले प्रशिक्षण दिएका थिए।
कार्यक्रमको सुरुआतमा सभापति बिसुरालले सहभागीलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए। उनले पोल्ट्री व्यवसायलाई दीगो, सुरक्षित र कानुनी रूपमा सञ्चालन गर्न वातावरणीय मापदण्डको पालना अपरिहार्य रहेको बताए।
प्रशिक्षक ढकालले वातावरण संरक्षण ऐन, २०७६, वातावरण संरक्षण नियमावली, २०७७ तथा व्यावसायिक पन्छी फार्म तथा ह्याचरी सञ्चालन निर्देशिका, २०७१मा भएका कानुनी व्यवस्थाबारे विस्तृत जानकारी दिएका थिए। उनले उद्योग तथा व्यवसायसँग सम्बन्धित ऐन, नीति, नियम, निर्देशिका र विधेयक, प्रारम्भिक वातावरणीय परीक्षण ९आईईई० प्रतिवेदन तयार गर्ने प्रक्रिया, आवश्यक कागजात, फोहोर व्यवस्थापन, स्वच्छ उत्पादन, फार्मको स्वअनुगमन तथा वातावरणीय दायित्वका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रमको समापनमा प्रमुख अतिथि तथा संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले संघले व्यवसायीका समस्या समाधानका लागि गरेका पहल, व्यावसायिक पन्छी फार्म तथा ह्याचरी सञ्चालन निर्देशिका–२०७१ कार्यान्वयनका लागि सम्बन्धित निकायसँग भइरहेको समन्वय, निर्देशिकामा आवश्यक सुधारका प्रयास तथा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको महत्वबारे प्रकाश पारे।
उनले व्यवसाय सञ्चालनलाई कानुनी रूपमा सुरक्षित बनाउन आवश्यक प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया सहज बनाउन संघ निरन्तर सदस्य व्यवसायीको साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा वातावरण संरक्षण ऐन, २०७६, नियमावली, २०७७ तथा व्यावसायिक पन्छी फार्म तथा ह्याचरी सञ्चालन निर्देशिका, २०७१ अनुसार ह्याचरी, प्यारेन्ट फार्म र ग्रान्ड प्यारेन्ट फार्मले अनिवार्य रूपमा प्रारम्भिक वातावरणीय परीक्षण ९आईईई० प्रतिवेदन तयार गरी प्रमाणपत्र लिनुपर्ने कानुनी व्यवस्था रहेको जानकारी समेत दिइएको थियो।
करीब ३० जना ह्याचरी व्यवसायीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन शिवप्रसाद बरालले गरेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij