चितवन : दलभित्र नेतृत्व परिवर्तनको तीव्र दबाब रहे पनि अन्ततः थपलियामै सहमति जुटेको एमाले बागमती प्रदेशका प्रमुख सचेतक एकालाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार सत्ता साझेदारीको सहमतिअनुसार अब बाम गठबन्धनका तर्फबाट थपलियालाई नै बागमती प्रदेशको मुख्यमन्त्रीका रूपमा अघि सारिनेछ।
‘जगन्नाथ थपलिया नै एमाले बागमती प्रदेश संसदीय दलका नेता हुनुहुन्छ। तत्कालको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै उहाँलाई नै मुख्यमन्त्रीको रूपमा अघि बढाउने निर्णय भएको हो,’ श्रेष्ठले बताए।
केन्द्रमा नेकपा र एमालेबीच भएको सत्ता साझेदारीअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले पाउने निश्चित भएपछि दलभित्र मुख्यमन्त्रीको आकांक्षा तीव्र बनेको थियो। संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने परम्परा रहे पनि नेतृत्व परिवर्तनको माग उठेपछि केही दिनयता एमालेभित्र आन्तरिक शक्ति संघर्ष चर्किएको थियो।
साउन ९ गते सत्ता साझेदारीको सहमति भएपछि वर्तमान नेतृत्व परिवर्तनका लागि अभियान नै सुरु भएको थियो। सचिव महेश बस्नेत निकट समूहले थपलियाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नयाँ नेतृत्वको पक्षमा हस्ताक्षर अभियान चलाएको थियो। स्रोतका अनुसार २५ सदस्यीय एमाले संसदीय दलमध्ये १९ सांसदले किरण थापा मगरलाई संसदीय दलको नेता बनाउन समर्थन गरेका थिए।
यता, एमाले उपाध्यक्ष ईश्वर पोखरेल निकट समूहले केशव पोखरेललाई नेतृत्वमा ल्याउने प्रयास गरिरहेको थियो। तीन नेताबीच नेतृत्वको प्रतिस्पर्धा चर्किए पनि अन्ततः पार्टीले थपलियामै विश्वास कायम गर्दै मुख्यमन्त्रीका लागि अघि बढाउने निर्णय गरेको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij